झापा जिल्लालाई सडक मानवमुक्त जिल्ला घोषित - Pahilo Online

झापा जिल्लालाई सडक मानवमुक्त जिल्ला घोषित

writer

झापा । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको संयोजन एवं झापा जिल्लाका १५ वटै स्थानीय तह साथै मानवसेवा आश्रम विराटनगरको सहयोगमा सडकमा आश्रित बेसहारा, अभिभावकविहीन मानवको उद्धार गर्दै झापा सडक मानवमुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । झापाको सुरुङ्गामा भएको घोषणा कार्यक्रममा जिल्लाका ७४ सडक मानवको उद्धार गरिएको छ ।

सडक मानवलाई कार्यक्रमस्थल सुरुङ्गास्थित खानेपानीको कार्यालय परिसरमा नुहाइदिने, कपाल कटाउनाका साथै नयाँ लुगा लगाइदिएर सामूहिक भोजनसमेत गराइएको थियो । उनीहरुको स्वास्थ्य परीक्षणसमेत गर्दै आवश्यकतानुसार प्राथमिक औषधोपचारको व्यवस्था गरिएको थियो । उद्धार गरिएका सडक मानव सबैलाई विराटनगरस्थित मानवसेवा आश्रममा व्यवस्थापन गरिने आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । सडक मानवको पालनपोषण एवम् औषधोपचार खर्च स्थानीय तहबाट नै हुने जानकारी दिँदै आश्रमका संस्थापक अध्यक्ष अधिकारीले विराटनगरमा दुई ठूला कोठा भाडामा लिएर आश्रम सञ्चालन गरिँदै आएको बताए ।

शारीरिक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउन बाध्य घरबारविहीन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सडकआश्रित मानवरहित राष्ट्र निर्माण गर्ने सरकारको अभियान सफल पार्ने उद्येश्यले कार्यक्रम सञ्चालन गरिएको प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोषअनुसार तीनै तहका सरकारको कार्यक्रमका रुपमा सडक मानवको उद्धार गर्ने कार्यलाई अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिँदै राज्यमन्त्री गजमेरले मानव सेवामा सधैंँ सकारात्मक बन्न सवैलाई अनुरोध गरे । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न सडक मानवमुक्त जिल्ला घोषणा कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, सामाजिक मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, मेची नगरपालिकाका कार्यवाहक नगर प्रमुख मीना उप्रेती, दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीलगायतले घोषणा कार्यक्रममा स्थानीय सरकारका तर्फबाट ऐक्यबद्धता जनाएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes