बेलबारी । मोरंगको बेलबारी नगरपालिका ४ हल्लुडे चौकमा सोमबार दिउँसो भएको दुर्घटनामा घाईते भई उपचाररत एक जनाको समेत मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको छ । दुर्घटनामा बेलबारी नगरपालिका ११ का अर्जुन खत्रीको दुर्घटना भएकै दिन मृत्यु भएको थियो भने उनका छिमेकी दुर्गा भण्डारी गम्भिर घाईते भई उपचाररत रहेकै अबस्थामा बिराटनगरमा बिहिबार मृत्यु भएको हो । दुर्घटनापछि समयमा उद्धार हुन नसक्दा खत्रीको मृत्यु भएको आफन्तको गुनासो छ ।
पुर्ब पश्चिम लोकमार्गबाट दक्षीण तर्फ बाटो क्रस गर्दै गरेको को ३५ प ५९७५ नम्बरको स्कुटरलाई प्रदेश १ २२४२ नम्बरको पिकअप भेनले ठक्कर दिएको थियो । घाईते भएर सडकमा छटपटाईरहेका बेला झापाबाट बिराटनगर फर्किदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी सोही ठाँउमा आईपुगेपनि मुख्यमन्त्रीले न त सवारी रोके न त कसैलाई फोन गरेर उद्धारको प्रयास नै गरे । त्यस घटनापछि मुख्यमन्त्री राईको चर्को आलोचना समेत भएको थियो ।