भोजपुर–चखेवा भञ्ज्याङ सडक ७५ प्रतिशत कालोपत्रे - Pahilo Online

भोजपुर–चखेवा भञ्ज्याङ सडक ७५ प्रतिशत कालोपत्रे

writer

युवराज विष्ट (भोजपुर) । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने भोजपुर–चखेवा भञ्ज्याङ सडकखण्ड निर्माणको काम ७५ प्रतिशत सकिएको छ। सडक खण्डको ४२ किलोमिटर मध्ये ३२ किलोमिटर कालोपत्रेको काम सकिएको हो।

आगामी ६ महिना भित्र सक्ने लक्ष्यका साथ काम भइरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ। मौसम अनुकूल नभएपनि कामलाई गति दिइएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए। प्रमुख न्यौपानेले भने, ‘यो सडक निर्माणको काम तीव्रगतिमा बढेको छ, लकडाउन तथा मौसमको कारण कालोपत्रेको काममा केही बाधा पुगेको छ, तर पनि अबको ६ महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्य छ।’

तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२र०७३ बाट काम थालेको थियो। यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ काम थालिएपनि लकडाउन, मौसम लगायतका कारण केही ढिला भएको निर्माण कम्पनीले जनाएको छ। यो क्षेत्रमा काम गर्ने समय पाँच महिनामात्र उपयुक्त रहेकाले काममा केही बाधा पुग्ने गरेको कम्पनीका इन्जिनियर शैलेन्द्र मल्लले जानकारी दिए। जेठ महिनाभित्र निर्माणका सबै काम सक्ने उनले दावी गरेका छन्।

सडक निर्माण लागत करीब ६५ करोड रुपैयाँ रहेको छ। दुई प्याकेजमा काम भइरहेकोे छ। जसमध्ये पहिलो प्याकेजको काम पूर्ण रुपमा सम्पन्न भएको छ। सडक निर्माणले गति लिएपछि स्थानीयवासीमा उत्साह थपिएको छ। सडक निर्माण भइरहेको स्थलको जिल्ला समन्वय समिति प्रमुख, लक्ष्मण खड्का, प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी सहित इन्जिनियरहरूको समूहले अनुगमन समेत गरेको छ। अनुगमनका क्रममा काम तीव्र गतिमा र तोकिएको मापदण्ड अनुसार नै भएको पाइएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले भने, ‘हामीले यो सडकको नियमित अनुगमन गरिरहेका छौँ, कामलाई गुणस्तरीय बनाउन हामी लागि परेका छौँ, अहिले सम्मको काम गुणस्तरीय नै देखिएको छ।’ सडक निर्माण सम्पन्न भए पश्चात जिल्लाको विकासमा टेवा पुग्ने जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ। निर्माणको कामलाई सहज रुपमा सम्पन्न गराउनका लागि कार्यालयको तर्फबाट सहजीकरण गरिरहेको कार्यालयको भनाइ छ।

निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तरमा जोड दिनुपर्ने जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले बताए। प्रमुख खड्काले भने,‘हामीले कामलाई सहज रुपमा सम्पन्न गराउनको लागि भूमिका खेलि रहेका छौँ, विषेश गरेर कामको गुणस्तरमा हामीले ध्यान दिएका छौँ।’ (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes