तावाभञ्ज्याङ–टेम्केडाँडा जोड्ने मुन्धुम पदमार्ग शिलान्यास - Pahilo Online

तावाभञ्ज्याङ–टेम्केडाँडा जोड्ने मुन्धुम पदमार्ग शिलान्यास

writer

खोटाङ । साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट चखेवाभञ्ज्याङ हुँदै टेम्केडाँडा जोड्ने मुन्धुम पदमार्ग शिलान्यास गरिएको छ । खोटाङ र भोजपुर सिमानामा पर्यटकीयस्थल टेम्केडाँडाको पर्यटन प्रवद्र्धन गर्न पदमार्ग निर्माण गर्न लागिएको हो । पदमार्ग निर्माण गर्न साकेला गाउँपालिका, प्रदेश सरकार र स्वीस सरकार विकास नियोगको त्रिपक्षीय लगानी रहने भएको छ । प्रस्तावित पदमार्ग निर्माण गर्न साकेलाको ३०, प्रदेशको ३५ र स्वीसको ३५ प्रतिशत अनुदान सहयोग रहने भएको छ ।

सरकारको तीनवटै तह तथा स्वीस सरकारबाट प्राप्त जम्मा रु ९८ लाख ८५ हजार ६३९ को लागतमा उक्त पदमार्ग निर्माण हुने गाउँपालिका अध्यक्ष अजुनकुुुमार खड्का ‘झङ्कार’ले जानकारी दिए । तावाभञ्ज्याङबाट चखेवाभञ्ज्याङसम्म करिब १० किलोमिटर लामो हुने उक्त पदमार्गको प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले शुक्रबार शिलान्यास गरे ।

त्रिपक्षीय सम्झौताका आधारमा निर्माण गर्न लागिएको मुन्धुम पदमार्ग सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमध्ये सबैभन्दा पहिलो प्राथमिकतामा राखेको छ । यस वर्ष उक्त पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायतका आधारभूत काम हुने जनाइएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका राईले यस मुन्धुम पदमार्गबाट खोटाङ र भोजपुरले धेरै ठूलो आम्दानी लिनसक्ने सम्भावना रहेको जानकारी दिए । “प्रदेश नं १ भित्र पर्ने पदमार्गमध्ये उत्कृष्ट एकमा मुन्धुम ट्रेल पर्छ”, उनले भने, “तावाभञ्ज्याङबाट चखेवा हुँदै पर्यटकीयस्थल टेम्के जोड्ने मुन्धुम ट्रेल यहाँका किराँत राई समुदायसँग सम्बन्धित रहेकाले पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।”

प्राकृतिकरूपमै पर्यटकको रोजाइमा पर्ने तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । प्रदेश नं १ कै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो । करिब रु ५६ करोड लागतमा निर्माण गरिने कृत्रिम तालका लागि प्रदेश नं १ सरकार र साकेला गाउँपालिकाको लगानी हुने गाउँपालिका प्रमुख झङ्कारले बताएका छन् । समुद्री सतहबाट करिब दुई हजार २०० मिटरको उचाइमा रहेको तावाभञ्ज्याङमा साढे ६०० मिटर लम्बाइ र ५०० मिटर चौडाइको कृत्रिम ताल निर्माण हुँदैछ ।

तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृत्रिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट शुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई करिब तीन घण्टासम्म डुङ्गा सयर गराउने, पौडी खेलाउन र दृष्यावलोकन गराउनका साथै तालभित्र माछा तथा हाँसपालनलगायतका क्रियाकलाप गर्नमा सहज हुने अपेक्षा गरिएको छ ।

भोजपुरको पाँचधारे तथा टेम्केको फेदमा पर्ने तावाभञ्ज्याङको माथिल्लो भेगमा शहीद उद्यान निर्माण गर्ने योजनासमेत प्रदेश सरकारबाट स्वीकृत भएर आएको गाउँपालिकाले जनाएको छ । शहीद उद्यानका लागि प्रदेश सरकारबाट रु १५ लाख बजेट प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताए । (पूर्वेली न्युज)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes