आहाले सामुदायिक वनद्वारा विभिन्न व्यक्तिलाई सम्मान - Pahilo Online

आहाले सामुदायिक वनद्वारा विभिन्न व्यक्तिलाई सम्मान

writer

पहिलो अनलाइन

केराबारी । मोरङको केराबारी–६ स्थित आहाले सामुदायिक वन उपभोक्ता समूहले गरिव तथा जेहेन्दार विद्यार्थीमध्येबाट सामुदायिक विद्यालयमा अध्ययनरत छात्र र छात्रालाई नगदसहित सम्मान गरेको छ ।

समूहको सातौं वार्षिक साधारणसभाका अवसरमा अध्ययनमा मेहनत गर्ने, राम्रो अंक ल्याई उत्तीर्ण हुने र सामुदायिक वनको महत्व बुझ्न सक्ने छात्र छात्रा छनौट गरी नगद ३ हजार पाँच सय र प्रसंसापत्रले सम्मान गरेको हो । जसमा दिपिका तामाङ र मनिषा दर्नाल रहेका छन् । गत वर्ष समूहले लोकबहादुर दर्नाल र प्रेमकुमारी बस्नेतलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

यसैगरी, समूहले वन संरक्षणमा साथ सहयोग, सल्लाह, सुझाव दिंदै निरन्तर नियम कानूनको परिधिभित्र रहेर सक्रियता पूर्वक काम गर्ने कार्यसमिति र उपभोक्ताहरुबाट उत्कृष्ट एकएक जना छनौट गरी नगद र प्रसंसा पत्रले सम्मान गरेको छ । समूहले यसवर्ष उपभोक्ताका तर्फबाट राजकुमार श्रेष्ठलाई सम्मान गरेको छ । गत वर्ष कार्यसमिति सदस्य जानुका घिमिरे र उपभोक्ता दिलबहादुर तामाङलाई सम्मान गरेको थियो ।

समूहका अध्यक्ष याम तामाङको अध्यक्षतामा सम्पन्न साधारणसभामा सचिव जमुनादेवी थापाले स्वागत गरेकी थिइन् । कार्यत्र mम कोषाध्यक्ष मनकुमार तामाङले सञ्चालन गरेका थिए । आर्थिक वर्ष २०७६÷०७७ को आयव्यय लेखा प्रतिवेदन कार्यालय सचिव जहानसिंह तामाङले प्रस्तुत गरेका थिए ।

सव–डिभिजन वन कार्यालय लाटिझोडाका प्रमुख दिवसकुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केराबारी ६ का वडा सदस्य मेघराज राई विशेष अतिथि रहेका थिए । कार्यक्रममा साझेदारी वन महासंघ प्रदेश नं. १ का सदस्य लालबहादुर बस्नेत, सिद्धार्थ सामुदायिक वनका अध्यक्ष, दिपज्योति सामुदायिक वनका उपाध्यक्ष लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

२ सय ७६ घरधुरी उपभोक्ता रहेको आहाले सामुदायिक वनले वन संरक्षणको क्षेत्रमा उपभोक्तालाई नै सकृय गराउने गरेको छ । जसमा वैज्ञानिक वन व्यवस्थापन अन्तरगत पुनरोत्पादन कटान गरिएको क्षेत्रमा वर्षको ३ पटकसम्म गोडमेल गर्ने गरिएको छ । पुनरोत्पादन कटान भएका सम्पूर्ण क्षेत्रहरुमा तारजालीले घेराबारा गरी व्यवस्थित गरिएको छ । नियमित गोडमेलका कारण पुनरोत्पादन कटान भएका कुपमा अन्यत्रबाट सालका विउ ल्याई रोपिएकोमा सालसंगै अन्य पुनरोत्पादन भएका कर्मा, बोध, लामपातेलगायतका विरुवाहरु लहलह हुर्किएको देख्न सकिन्छ ।

समूहले आगलागि नियन्त्रण उप–समिति बनाई उक्त समिति र उपभोक्ताको सहभागितामा वर्षमा एकपटक सुख्खा समयमा पात पतिङ्गर हटाई अग्निरेखा निर्माण गर्ने गरिएको छ ।

आहाले सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणका साथै सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको छ । समूहले विश्व महामारी कोभिड–१९ (कोरोना) राहत कोष केराबारी गाउंपालिका कार्यालयलाई २० हजार रुपैयां, ज्वेष्ठ नागरिक समितिको अगुवाईमा दाहसंस्कार स्थल निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

समूहले गरिव, विपन्न परिवारलाई प्रत्येक वर्ष ५ वटा खाट तथा सिरक वितरण गर्ने गरेको छ । गत वर्ष कमला वि.क., सन्तोषी कार्की, धनबहादुर श्रेष्ठ, मोतिलाल तामाङ, रुद्रबहादुर बस्नेतलाई खाट र सिरक वितरण गरेको थियो ।
आहाले सामुदायिक वन उपभोक्ता समूहले दाउराको खपत कम गर्न र वन जोगाउने उद्देश्यले वार्षिक ५ परिवारलाई वायोग्यांस तथा वैकल्पिक उर्जाका लागि ५ हजारका दरले सहयोग गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes