पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले भूमि समस्या समाधानका सम्बन्धमा नगरका दलका प्रतिनिधिहरुसँग आज छलफल गरेको छ । छलफलमा नगर प्रमुख दिलीपकुमार राईले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न गठित आयोगले अबलम्बन गरेका नीतिका बारेमा जानकारी गराए । साथै उनले आयोगलाई सघाउन नगर र वडा तहमा सहजिकरण समिति समेत निर्माण भई कर्मचारी र कार्यालय व्यवस्थापनको काम अघि बढेको पनि जानकारी गराए । उनले यस पटककको आयोग यसअघिका आयोगभन्दा अधिकार सम्पन्न रहेकाले समस्याको समाधान हुने कुरामा आयोगले विश्वस्त बनाएको उल्लेख गरे ।
सहभागि दलका प्रतिनिधिहरुले दोहोरो स्वामित्वको समस्याका बारेमा आयोगका अधिकारीहरुसँग समेत आफुहरु बसेर छलफल गर्नुपर्ने बताएपछि नगर प्रमुख राईले आफुले आयोगका अधिकारीलाई छलफलमा बोलाउन पहल गर्ने जनाए । छलफलमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले विज्ञ तथा आयोगका अधिकारीसँग दलका प्रतिनिधिको छलफल राख्दै सवैको सहकार्यमा समस्या समाधान गर्न लाग्नु पर्ने बताइन् । नगरमा रहेका ७ वटा दलका प्रतिनिधिहरुसँग छलफल गरिएको हो ।