पथरीशनिश्चरे । मोरङ्गको पथरीशनिश्चरेमा बिहिबारबाट जारी टेन्स्बर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिताको आज शुक्रबारको खेलमा सिरिजङ्गा फुटबल क्लबले बिजयी भएको छ । हेरिका न्युस्टार फुटबल क्लबलाई १–० गोल अन्तरले हराउदै सिरिजङ्गाले महत्वपूर्ण ३ अंक जोडेको छ । आज सम्पन्न खेलमा धेरैवटा गोल गर्ने अवसरलाई गोलमा परिणत गर्न नसक्दा हेरिका न्युस्टार अंकविहिन बन्न पुगेको हो।
पहिलो हाफको ३३ औँ मिनेटमा सिरिजङ्गा फुटबल क्लबका दिल कुमार याक्सोले गरेको गोल नै सिरिजङ्गाको जितको लागि निर्णायक बन्न पुगेको हो। १–० ले पछाडी परेको हेरिका न्यु स्टारले दोश्रो हाफमा पाएका अवसरहरुको सदुपयोग गर्न नसक्दा पराजित बन्न पुगेको हो। खेलको ६५ औँ मिनेटमा श्रीजंगाका सुवास तामाङले गरेको आकर्षक प्रहारलाई हेरिकाका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । यस्तै ७५ औँ मिनेटमा सनम धिमालको प्रहार पोस्टमा लगेर रिबाउण्ड हुँदा थप गोल गर्नबाट श्रीजंगा चुकेको थियो ।
खेलअवधिभर दवावमा रहेको हेरिका न्यूस्टारले धेरै वटा प्रहारलाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोरेको हो । खेलको ५६ औँ मिनेटमा बुद्ध राना मगरको उत्कृष्ट प्रहार गोल पोस्टमा लागेर रिवाउण्ड हुँदा गोल गर्नबाट चुक्यो । लगातार ३ वटा सुनौला मौका पाउदा पनि गोललाई पोस्टको दिशा दिन नसक्दा हेरिका स्तब्ध बन्यो । खेलको उत्रार्धमा हेरिका निकै आक्रमक रुपमा देखिए पनि जवाफी गोल फर्काउन नसक्दा १–० गोल अन्तरले पराजित बन्न पुग्यो । आजको खेलको मेन अफ द म्याच सिरिजङ्गा फुटबल क्लबका विवेक आङ्देम्बे भएका छन। लिग अन्तर्गत भोली शनिवारको खेल १० नवोदय फुटबल क्लब र देविगञ्ज फुटबल क्लब बिच हुनेछ।
मोफसलमै पहिलो भनिएको प्रिमियर फुटबल लिग, लिग कम नक आउट प्रणालीमा संचालन भैरहेको खेल संयोजक संजिव गिरिले बताए । प्रस्तावित पथरी रंगशालामा संचालन भईरहेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ भने प्रत्येक टिममा १–१ मार्की खेलाडी र अन्य खेलाडी अक्सन मार्फत अनुबन्धित गरि प्रतियोगिताको आयोजना गरिएको छ। प्रतियोगितामा हिमा अस हाईवे, शिखर फुटबल क्लब, देविगञ्ज फुटबल क्लब, १० नवोदय फुटबल क्लब, हेरिका न्युस्टार फुटबल क्लब, सिरिजंगा फुटबल क्लब, द रियल ब्रदर्स फुट्बल क्लब र वाईजिएफटीको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।