विरोधपछि विद्यालयमा राखिएको काँकडभिट्टाको होल्डिङ सेन्टर हटाइयो - Pahilo Online

विरोधपछि विद्यालयमा राखिएको काँकडभिट्टाको होल्डिङ सेन्टर हटाइयो

writer

झापा । भारतबाट आउने नागरिकलाई लक्ष्यीत गरी बनाइएको होल्डिङ सेन्टर व्यवसायीको विरोधपछि हटाइएको छ । कोरोना भाइरस महामारीपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टामा माविको खेल मैदानमा राखिएको होल्डिङ सेन्टर मंगलबार हटाइएको हो।

भारतबाट आउने नागरिकलाई लक्ष्य गरी होल्डिङ सेन्टर जिल्ला प्रशासन कार्यालय झापाले स्थापना गरेको थियो। होटेल व्यवसायी संघ मेचीनगर र ट्राभल्स संघ झापाले होल्डिङ सेन्टर हटाउनुपर्ने र नाका खोल्नुपर्ने माग राख्दै सीमा नाकामा प्रदर्शन गरेका थिए। दबाबपछि प्रशासनले अन्ततः होल्डिङ सेन्टर हटाएको हो। होल्डिङ सेन्टर हटाएलगत्तै अहिले मेची भन्सार कार्यालयको गेटमै हेल्थ डेस्क व्यवस्था गरिएको छ।

सोही डेस्कमा प्रशासनको सहकार्यमा प्रारम्भिक स्वास्थ्य चेकजाँच गरी नेपाल प्रवेश गराई गन्तव्यतर्फ पठाइने भएको छ। यसअघि पिसिआर रिपोर्ट र स्थानीय तहको सिफारिस नभएका नागरिकलाई होल्डिङ सेन्टरमा पठाउने र त्यहाँबाट गन्तव्यतर्फ पठाइने गरिन्थ्यो। प्रशासनमातहत रहेको होल्डिङ सेन्टरको व्यवस्थापन त्यसैअनुसार रहने गरी स्थानान्तरण मात्र गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए। विद्यालयको खेल मैदानमा ८ महिनादेखि होल्डिङ सेन्टर राखिएका कारण अहिले विद्यालयमा सञ्चालनमा आउने भएपछि पठनपाठनमा समेत असुविधा हुने जनगुनासो बढेको थियो।

त्यस्तै पर्यटन, होटेल तथा यातायात व्यवसायीले होल्डिङ सेन्टरमा पर्यटक र आगन्तुकसँग मनोमानी ढंगमा भाडा असुल्ने गरेको र बेथिति बढ्न थालेको थियो। अहिले पूर्वी नाकाबाट दैनिक सयौँ सङ्ख्यामा दुवै देशका नागरिक आवतजावत गरिरहेका छन्। सीमा नाका सिल भए पनि यसको असर भने नाकामा नदेखिएको स्थानीय बताउँछन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes