शनिश्चरे । मोरङको पथरीशनिश्चरे– ४, स्थित बालकल्याण आधारभूत स्कुल छेउकी क्यान्सर पीडित १७ बर्षिय भद्रकुमारी (सर्मिला) बस्नेतको उपचारका लागि सहयोग जुट्ने क्रम बढेको छ । विगत ७ महिनादेखि मलदुवारमा क्यान्सर भइ उपचाररत १७ बर्षिय भद्रकुमारी (सर्मिला)को सहयोगार्थ हङकङमा रहेका रहेका नेपालीहरुबाट १ लाख ७६ हजार ७ सय रुपैयां सहयोग जुटेको हो ।
मोरङ शनिश्चरे घर भई हङकङमा रहेका नेपालीहरुबाट उक्त रकम संकलन भएको भद्रकुमारी (सर्मिला) बचाउ अभियान समितिका संयोजक राजकुमार विश्वर्कमाले जानकारी दिए । संयोजक विश्वकर्माका अनुसार शनिश्चरे हङकङ समाजका महासचिव धनबहादुर राईको अगुवाईमा ५२ जनाबाट उक्त रकम संकलन भएको हो ।
शनिश्चरे हङकङ समाजबाट प्राप्त रकम आज (सोमबार) पथरीशनिश्चरे ४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडा सदस्य तुलसादेवी दर्जी, समाजसेवी मानबहादुर गुरुङ, युवा समाज सेवी नारायण दाहाल लगायतको उपस्थितिमा परिवारलाई हस्तान्तरण गरिएको छ । उक्त अवसरमा वडाध्यक्ष भण्डारीले सहयोगी दाताहरुलाई धन्यवाद दिंदै वडाको तर्फबाट पनि अफुहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै समाजसेवी गुरुङले पनि पहल गर्ने धनबहादुर राईलगायतको टिमलाई धन्यवाद दिएका थिए ।
भद्रकुमारी (सर्मिला)लाई विरामी भएपछि सुरुमा आयुर्वेदीक पसलमा लगियो । आयुर्वेदीक पसलले पायल्स भनिदिएर ढेड महिना दवाई ख्वाईयो त्यस पछि दिसा बन्द भयो । दिशा बन्द भएपछि विराटनगरको संजीवन हस्पिटलमा लगेर उपचार गरे । संजीवन हस्पिटलमा भिडियो एक्सरे, एमआरआई गरेपछि रोग पत्ता लाग्यो । रोग पत्ता लागे पछि हस्पिटलले धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर गरिदियो ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाले क्यान्सर भनेर पत्ता लगायो । धरानबाट झापाको विएनसी हुदै फेरी धरानको घोपामा अपरेसन गरेको पीडितका बुबा उद्धब बहादुर बस्नेतले गहभरी आँसु झारदै बताए । उनले विहे गर्ने उमेरमा छोरीलाई भयानक रोग लागेकोले यसको थप उपचारको लागि सबैले सहयोग गरिदिन आग्रह गरेका छन् । उनि पथरीशनिश्चरे–१० को सिंहवाहीनि माविमा कक्षा १०मा अध्ययनरत हुन् ।
क्यान्सर पीडितका आमा टंकमाया बस्नेतका अनुसार अहिले सम्म आफ्न्त र छरछिमेकमा ऋण गरेर ११ लाख खर्च भैसकेको छ । डाक्टरले पैसा भए छोरी निको हुने आसवासन दिएपछि हामीले सहयोग उठाएर छोरीको थप उपचार गर्ने निर्णय गरेर सहयोगको हात फैलाएको बताए । उनले छोरी निको पार्न सबैले सहयोग गरिदिन आग्रह गरेका छन् ।
राजकुमार विश्वर्कमाको संयोजकत्वमा ५ सदस्य भद्रकुमारी (सर्मिला) बचाउ अभियान समिति गठन भएको छ । समितिका संयोजक राजकुमार विश्वर्कमाले सवैमा सहयोगको अपेक्षा गरेको बताए । सहयोग गर्न चाहने मनकारीले क्यान्सर पीडितको बुबा उद्धब बहादुर बस्नेतको फोन नं। ९८२७३३१२०८ वा एनआईसि एसिया बैंक खाता नं। ४८७०१९०४०४५३४०१ मा आर्थिक सहयो रकम पठाउनु सक्नु हुने छ ।