दमक । झापाको दमक नगरपालिकामा गत आइतबार बाट कोभिड उपचार केन्द्र सञ्चालनमा आउको छ। तत्कालीन समयमा भुटानी शरणार्थीको रेखदेख तथा समन्वय गर्ने निकायको रुपमा रहेको शरणार्थी समन्वय इकाइको कार्यालय रहेको भवन पुनर्निर्माण गरी कोभिड उपचार केन्द्रका रुपमा सञ्चालनमा ल्याइएको हो।
उपचार केन्द्रको प्रदेशसभा सदस्य अर्जुन राईले उद्घाटन गरे। अक्सिजनसहितको ३० बेडको सो उपचार केन्द्रमा ४ बेड एचडियु रहने नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिएकी छन्। दमक अस्पतालअन्तर्गत रहने गरी उपचार केन्द्र सञ्चालनमा आएको जानकारी दिँदै उनले अस्पताललाई निरन्तर सञ्चालन गर्न सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षासमेत राखिएको जनाएकी छन्।
संघीय सरकारले सबै स्थानीय तहलाई विभिन्न मापदण्डहरुसहित आआफ्ना पालिकाका कोरोना संक्रमितको उपचारका लागि कोभिड अस्पताल सञ्चालन गर्न करिब दुई महिनाअघि नै सर्कुलर गरेको थियो।
धेरैजसो स्थानीय तहले छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याए पनि यसअघि दमकमा कोभिड अस्पताल स्थापनामा ढिलाइ भएको जनगुनासो थियो। तर नगरपालिका प्रमुख रोमनाथ ओलीले ढिलो गरी केन्द्रले सर्कुलर गरेको र सुविधायुक्त संरचना बनाउन केही समय लागेको जनाएका छन्।
कोरोना संक्रमितहरुको पहिचानका लागि नगरपालिकाले निःशुल्क गर्दै आएको स्वाब संकलनलाई नगरले निरन्तरता दिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले दमक नगरपालिकाले कोरोना लक्षण देखिएकाहरुको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्ने क्रमलाई निरन्तरता दिइरहेको बताएका छन्।
केही समययता दमकमा सःशुल्क मात्रै कोरोना परीक्षण हुने गरेको निराधार हल्ला फैलाइएको उनको भनाइ छ। स्वेच्छिक परीक्षण गर्नेलाई नरोकेको तर कोरोना लक्षण भएकाको सातामा दुई दिन करिब ३०० जनासम्मको स्वाब संकलन गर्ने काम भइरहेको भट्टराईले बताए।