काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण कार्तिक १३ गते विहिबार बाट सुरु भएको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले प्रशिक्षण सुरु गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु प्रशिक्षणको पहिलो दिन ३० खेलाडी उपस्थित भएका थिए । राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाईएका ३४ खेलाडी मध्ये ४ जनालाई कोरोना देखिएको एन्फाले जनाएको छ । एन्फाले खेलाडीको नाम भने सार्वजनिक गरेको छैन । कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ ।
नेपालले बंगलादेशसँग कात्तिक र मंसिरमा गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन । नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा तयारी सुरु गरेको हो ।