कानेपोखरी । बडादशै, शुभदिपावली र छठपर्वको पावन अवसरमा कानेपोखरी गाउँपालिका वडा नम्बर ६ को नव दिप फुटबल क्लब दहिधापले आयोजना गरेको नव दिप नकआउट फुटबल प्रतियोगिताको पाँचौ दिन बुधबार २ वटा खेल भएका छन् ।
पहिलो चरण अन्तर्गतको अन्तिम खेल हिमाल युनाइटेड फुटबल क्लब बिहिवारे र हाइवे युथ फुटबल क्लब पथरी शनिश्चरे १ बीच भएको खेलमा १–० गोल अन्तरले हाइवे युथ फुटबल क्लब विजयी भएको हो । निर्धारित २५–२५ मिनेटको समयावधि खेलको २१ औ मिनेटमा हाइवेका लागि असिम राईले गोल गर्दै हाइवे युथ फुटबल क्लबलाई जीत दिलाएका थिए ।
त्यस्तै, दोश्रो खेल क्वाटर फाइनल अन्तर्गतको पहिलो खेल पिपलडाँडा फुटबल क्लब र मंगलबारे शुक्रवारे फुटबल क्लब बिच भएको खेलमा २–० गोलको अग्रता सहित मंगलबारे शुक्रवारे फुटबल क्लब बिजयी भएको छ । खेलको ३० औ र ४० औ मिनेटमा क्रमश दिलिप धिमाल र सौराज राउतले गोल गर्दै मंगलबारे शुक्रवारे फुटबल क्लबलाई जित दिलाएका हुन् । खेल असोज ३० गतेबाट सुरु भएको हो भने हरेक दिनको खेल दिउँसो २ः३० बजेबाट सुरु हुन्छ । पहिलो चरणको खेल अन्तर्गत १८ टिमको सहभागीता रहेको थियो । सो टिमबाट ९ टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।