पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले स्थानीयको आफ्नै लापरवाहीका कारण कोरोना भाइरसको जोखिम बढेको बताउँदै अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ । नगर प्रमुख राईले आज(शनिबार) वडा नम्वर १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिमुलक सहभागितामाझको १० औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा बोल्दै त्यस्तो आग्रह गरेका हुन् ।

उनले नगरको क्वारेन्टिनमा राखिएका ७ सय जनाको स्वाब संकलन गरी पीसीआर विधिबाट जाँच गर्दा मात्र १६ जनामा कोरोना देखिएको अवस्थामा हाल आएर स्वास्थ्य लापरबाहीका कारण हिँडडुल गर्दा समुदायका ६३ जना गरी कुल ७९ जनामा कोरोना फैलिइसकेको बताएका थिए । उनले कम्तिमा डेढ मिटरको भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुने र सेनिटाइजर लगाएर स्वास्थ्य सतर्कता अपनाउनुको विकल्प नरहेको स्मरण गराएका छन् । उनले कोरोनाको संक्रमण बढिरहेकाले संक्रमितका लागि आवश्यक पर्दा प्रदेश १ मा अस्पतालमा राख्ने बेड समेत नभएको जनाए ।
कोरोनाको संक्रमण नगरका जनप्रतिनिधि, कर्मचारी सहित समुदायमा फैलिएकाले असोज ३० देखि कार्तिक ६ गतेसम्मका लागि नगरपालिका वडा कार्यालयको प्रशासनिक सेवा बन्द गरिएको छ । नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्वर वडाको आधारभूत स्वास्थ्य केन्द्रको सेवा ती कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि रिपोर्टका आधारमा कार्यालय के कसरी सञ्चालन गर्ने भन्ने निर्णय हुने बताए । दैनिक तथा साप्ताहिक हाट बजार समेत बन्द गरिएको उल्लेख गरे ।

वन संरक्षको प्रसंगमा उनले नगरपालिकाले पनि सरोकारवाला पक्षहरुसँग छलफल गरी नीति बनाउने बताउँदै नगरले वन तथा सिमसारयुक्त पर्यटन प्रवद्र्धनका लागि गत वर्षदेखि नै सामुदायिक वनहरुसँगको साझेदारी कार्यक्रम अघि सारेको जानकारी गराए ।
