मोरङ । प्रदेश १ सरकारले बिहीवार प्रदेशका ११ जिल्लाका १, १ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा तथा विपद् ब्यवस्थापन र स्वास्थ सेवाका लागि १र१ थान दमकल र प्रहरी भेन हस्तान्तरण गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भेन हस्तान्तरण गरेका हुन् ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको ५ करोड ६७ लाख २० हजार रुपैयाँ बराबरको ११ वटा दमकल र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ बराबरको १४ वटा प्रहरी भ्यान हस्तान्तरण गरेको छ । अहिले ११ स्थानीय तहलाई हस्तान्तरण गरेकोमा तीनवटा हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुको लागि अर्काे चरणमा ती सामाग्री हस्तान्तरण गरिनेछ ।
बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिकालाई ती सामाग्री हस्तान्तरण गरिएको हो । सेवा केन्द्रका लागि एम्बुलेन्स पनि उपलब्ध गराउने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । एम्बुलेन्स भने प्रक्रियामा रहेको बताइएको छ । हस्तान्तरण गरिएका दमकल, प्रहरी भेन र एम्बुलेन्स सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्ष संयोजक रहेको मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन समितिमार्फत परिचालन हुने मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जानकारी दिए। त्यसको सञ्चालन भने प्रहरीले गर्नेछ ।
केन्द्रको सञ्चालन पालिकाको प्रमुखको अध्यक्षतामा रहने सञ्चालक समितिले गर्नेछ भने ईन्धन र मर्मतको खर्च पालिकाले ब्यहोर्नेछ । जनशक्तिको व्यवस्थापन आन्तरिक मामिला मन्त्रालयले प्रदेश प्रहरीमार्फत गर्नेछ ।