अब वन पैदावरमा मात्र निर्भर हुनु हुँदैनः सचिव पौडेल - Pahilo Online

अब वन पैदावरमा मात्र निर्भर हुनु हुँदैनः सचिव पौडेल

writer

रामकुमारी राई

लेटाङ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) प्रदेश नं. १ का सचिव अग्नी पौडेलले सामुदायिक वनहरुले वन पैदावरमा मात्र निर्भर नभई पर्यापर्यटनबाट आम्दानी गर्न सुझाव दिएका छन् । सचिव पौडेलले आज (विहीबार) मोरङको लेटाङ–३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समुहको २१औं वार्षिक साधारणसमालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

वन पैदावर नविकरणीय उर्जा भए पनि यसलाई सही सदुपयोग, संरक्षण र पुनर्उत्पादन गर्न सकिएन भनें एकदिन नासिएर जाने भएकोले पर्यापर्यटन दिगो आम्दानीको श्रोत भएको उनको दावी छ । वनबाट आएको आम्दानीले पर्यटकीय क्षेत्र निर्माणका साथै शिक्षालय, खेलकुदलगायतका सामाजिक क्षेत्रमा लगानी बढाउनु पर्ने सचिव पौडेलको सुझाव छ ।


सचिव पौडेलले सामुदायिक वन नाफा रहित संस्था भएकोले सरकारले तेहरो कर लाद्न नहुने भन्दै एकद्वार प्रणालीबाट मात्र कर लिनु पर्ने बताए । सरकारले फेकोफनको सुझावलाई बेवास्ता गर्दै वनको वैज्ञानिक व्यवस्थापन तीव्र रुपमा गरिरहेको भन्दै आपत्ती प्रकट गरे । ‘वैज्ञानिक वनको अहिलेको मोडल ठीक छैन भनेर हामीले विरोध गरेका हौं’– सचिव पौडेलले भने ‘यसको प्रकृया गलत भएकाले वैज्ञानिक वन महंगो भएको छ, यसलाई अबिलम्ब सच्याउनु पर्छ ।’

कार्यक्रममा लेटाङ नगर प्रमुख शंकर राई, ३ नं. वडाध्यक्ष देवराज चाम्लिङ राई, सव–डिभिजन वन कार्यालय लेटाङका प्रमुख सत्यनारायण झा, फेकोफन मोरङकी उपाध्यक्ष सुभद्रा भट्टराई, फेकोफन लेटाङ नगर महासंघ अध्यक्ष आनन्द सागर तिम्सिना, चिसाङ सामुदायिक वनका अध्यक्ष पुण्यप्रसाद खतिवडा, कमलपुर सामुदायिक वनकी सल्लाहकार सिता श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समूहकी सचिव यामकुमारी खतिवडाले सञ्चालन गरेको र समूहका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रसंसा चर्च कमलपुरलाई सम्मान समेत गरिएको थियो ।


२१औं साधारणसभाको खुल्लासभामा अध्यक्ष गोपाल श्रेष्ठले समूहले आगामी दिनमा गरिने कार्यहरु प्रस्तावका रुपमा पेश गरेका थिए । अध्यक्ष श्रेष्ठले वनको आम्दानीको २५ प्रतिशत रकम वन विकासमा खर्च गरीने जानकारी दिए । गत वर्षहरुमा झैं चालु आर्थिक वर्षमा पनि वन संरक्षण र सम्बद्र्धन गर्दै झाडी सफाई, घेराबारा गरी पुनरुत्पादनको काम गरिने अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार वन विकास अन्तरगत अग्नी रेखा निर्माण, लहरा कटनी–छटनी, गोडमेल, विरुवा रोपण साथै वन हेरालुबाट दैनिक गस्ति गरिने छ ।

वनबाट आएको ३५ प्रतिशत आम्दानीको रकमले समूहका गरिव विपन्न परिवारहरुका निम्ति खर्च गरिने अध्यक्ष श्रेष्ठले सभामा जानकारी दिए । जसमा विपन्न वर्ग पहिचान गरी तिनको घर निर्माण, मर्मत सुधार, उनका छोराछोरीलाई कम्प्युटर, सिलाई कटाई, ड्राइभिङ तालिम प्रदान गरिने उनले बताए । यस्तै विपन्न परिवारलाई सिकाई अवलोकन भ्रमण, आवश्यकता अनुसार सिरक डसना, खाट, फर्निचरका सामान उपलब्ध गराई उनीहरुको स्तरोन्नती गर्न समूह लागि पर्ने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाए ।

वनबाट आएको आम्दानीको ४० प्रतिशत रकमले समूहको कार्यालय व्यवस्थापन, स्टेशनरी खरिद, टोलमा सरसफाई, विद्युत मर्मत, खानेपानी, भूमिगत सिंचाई, ढल निकास, सौर्य उर्जा, खोला तटबन्ध, रोड लाइट, सडक मर्मत र नगर, वडासंग साझेदारी गरी कार्य गर्ने प्रतिवेदनमा उल्लेख छ । सामाजिक कार्यमा खेलकुद, शिक्षा र पर्यटनमा पनि खर्च गरिने बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes