ताप्लेजुङ । कोभिड १९ का कारण लामो समयदेखि अवरुद्ध रहेको शैक्षिक गतिविधिलाई आफ्नो परिवेश अनुकूल सञ्चालन गरी सिकाइलाई निरन्तरता दिन सकिने सिकाइ सहजीकरण निर्देशिका जारी गरेसँगै ताप्लेजुङका केही शैक्षिक संस्थाहरु सञ्चालनमा आएका छन्। अहिले केहि ताप्लेजुङका निजी तथा सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको हो।
मुलुको अन्य जिल्लाको तुलनामा ताप्लेजुङ कोरोना संक्रमणका हिसाबले केही सुरक्षित रहेको र सबै विद्यार्थी तथा अविभावक रेडियो, टिभी साथै अनलाइन सिकाइको पहुँचमा नभएको निस्कर्षसहित यहाँका विद्यालयहरुले विगत एक सातादेखि शैक्षिक संस्था खोलेर पठनपाठन गरिरहेका छन्। तर‚ विद्यालयमा आउने विद्यार्थीको संख्या अत्यन्तै न्यून छ। पछिल्लोपटक सदरमुकामस्थित एक बैंकका कर्मचारी र फक्ताङलुङ गाउँपालिकाका एक वृद्धमा संक्रमण पुष्टि भएपछि अभिभावकले बालबालिकालाई विद्यालय पठाउन डराइरहेका छन्। ‘अभिभावकको इच्छाअनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्दै विद्यालय खोल्यौँ,’ भानुजन माविका प्रधानाध्यापक किशोर राईले भने, ‘तर विद्यार्थीको संख्या भने कम छ।’ संक्रमणका कारण विद्यालय बन्द हुँदा रेडियो, टिभी र अनलाइनबाट भइरहेको सिकाइका गतिविधिमा विद्यार्थीले चासो नदिने गरेकाले पनि विद्यालय खोलेर सञ्चालनमा पठनपाठन सुरु गरेको राईले बताए।
संक्रमणकै कारण परिस्थिति जटिल बने अन्य उपाय अवलम्वन गरेर पनि सिकाइलाई निरन्तरता दिने तयारी भएको उनको भनाइ छ। फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकाका अधिकांश विद्यालयमा पठनपाठन सुरु भएको छ। तर, अन्य क्षेत्रका विद्यालय भने बन्द नै छन्। खोल्ने तयारी हुँदा हुँदै जिल्लामा संक्रमित थपिएपछि अन्योल भएको ती विद्यालयहरुले जनाएका छन्। स्थानीय सरकारले समेत विद्यालय लगाउ भन्न सकिरहेका छैनन्। ‘संक्रमणको दर बढ्दो छ, गाउँपालिकाले नै निर्णय गरेर विद्यालय खुला गर भन्न सकिरहेको छैन,’ सिरिजंघा गाउँपालिकाका अध्यक्ष टिका गुरुङले भने, ‘तर स्वास्थ्य सुरक्षा र परिस्थितिलाई मध्यनजर गरी विद्यालय आफैँले सञ्चालन गर्दा रोक्ने कुरा हुँदैन। सिकाइलाई वैकल्पिक माध्यमबाट निरन्तरता दिने लगायतका कार्यलाई सघाइरहेका छौँ।’
यातायात खुलेसँगै सदरमुकामका फुङलिङ बजारदेखि गाउँगाउँमा समेत मानिसको चहलपहल बढ्दै गइरहेको र स्थानीयमा समेत संक्रमण देखिएपछि सर्वसाधरणमा समेत त्रास छ। हिमाली जिल्ला भएकाले एकातिर सबै नागरिक रेडियो, टिभी र अनलाइनबाट हुने सिकाइको पहुँचमा छैनन् भने अर्कातिर संक्रमण बढ्दै जाँदा खुलेका विद्यालयमा समेत आफ्ना बालबच्चालाई पठाउन सकिरहेका छैनन्।