पथरीशनिश्चरेमा अतिआवश्यकीय काम बाहेक सम्पूर्ण प्रशासनिक सेवा बन्द - Pahilo Online

पथरीशनिश्चरेमा अतिआवश्यकीय काम बाहेक सम्पूर्ण प्रशासनिक सेवा बन्द

writer

पथरी शनिश्चरे । मोरङको पथरी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा समेत गरी समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएकाले तत्कालका लागि नगरपालिका कार्यालय र त्यसका मातहतका कार्यालय बन्द रहने भएका छन् । नगर कार्यपालिका र कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आजको(शनिवार) संयुक्त बैठकले अतिआवश्यकीय काम बाहेक सम्पूर्ण प्रशासनिक सेवा अर्काे सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए।

नगरका जनप्रतिनिधि, कर्मचारी, नगर अस्पतालका स्वास्थ्यकर्मी सहितमा कोरोना देखिएको र उनीहरु तथा उनीहरुसँग सम्पर्क हुनेहरुको भोली कोरोना स्वाब संकलन गरी त्यसको पीसीआर रिपोर्टको अवस्था अनुरुप कार्यालय सञ्चालन सम्बन्धी निर्णय हुने उहाँले बताउनु भयो । जसमा नगरपालिका कार्यालय, त्यस मातहतका विषगत कार्यालय, वडा कार्यालयहरु तत्कालका लागि बन्द रहने छन् । नगर अस्पताल र त्यस मातहतका स्वास्थ्य निकायमा समेत दैनिक नियमित औषधि खाने विरामीका लागि औषधि वितरणको व्यवस्थापन मिलाउँदै जाँच तथा उपचार सेवा बन्द गरिने निर्णय भएको छ ।

यसका साथै शैक्षिक संस्थाहरुको भर्ना वा अभिलेखिकरण कार्य स्वास्थ्य सतर्कता अपनाएर सञ्चालन गर्ने र त्यो बाहेक विद्यार्थी सहभागि गराई प्रत्यक्ष पठनपाठनका कुनै पनि गतिविधि नगर्ने पनि निर्णय गरिएको छ । साप्ताहिक हाट बजार पनि अर्काे सूचना नभएसम्मका लागि बन्द गरिने छ । यस प्रकारको निर्णय विपरित कार्य भएमा नगरपालिका र प्रहरी कार्यालयले कारबाही समेत गर्ने निर्णय भएको छ । नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको सो बैठकले अत्यावश्यक काममा बाहिर निस्कनु पर्दा मास्क, सेनिटाइजरको प्रयोग गरी भौतिक दूरी कायम गरी स्वास्थ्य सतकर्ता अपनाउन समेत नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes