मोरङ । जिल्ला कारागार मोरङमा रहेका एककैदीबन्दी कारोनाको कारण मृत्यु भएको छ । सुनसरीको इटहरी घर भएका लागूऔषध मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका २७ वर्षीय बन्दी पुरुषको मृत्यु भएको हो । लागूऔषध मुद्दामा २०७६ मंसिर १८ गतेबाट पूर्पक्षका लागि कारागारमा रहेका राई थरका युवकमा बुधबार एक्कासी श्वासप्रश्वासमा समस्या देखिएको थियो । बुधबार बेलुका कोशी अस्पताल भर्ना भएका युवकको करिब राति ८ः३० मा मृत्यु भएको हो । मृत्युपछि स्वाब संकलन गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेशनमा भर्ना गरेर स्वाब संकलन गरेको थियो । बिहीबार पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका आइसोलेशन प्रमुख डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए । जिल्ला कारागार मोरङका जेलर सुवास लामिछानेका अनुसार मृतक पुरुषमा अन्य समस्या थिएन । एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि जेलमा रहेको स्वास्थ्य टोलीले हेरेर अस्पताल भर्ना गरेको थियो ।
कोरोना संक्रमणका कारण बन्दीको मृत्युपछि कारागारभित्र त्रास बढेको छ । महिला र पुरुष गरी ३०० कैदीबन्दी अटाउने कारागारमा ९२१ जना कैदीबन्दी बसिरहेका छन् । जसमा ८१ जना महिला छन् । बुधबार संक्रणका कारण युवकको मृत्यु भएपछि उनीसँगै कारागारमा बस्ने अन्य ४० जनाको स्वाब संकलन गर्ने तयारी भएको जेलर लामिछानेले बताए ।