सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ आइतबारेमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि कुटपिट भएको घटना बाहिरिएको छ । स्थानीय २९ वर्षीया धनहीरा राईले छिमेकी ३८ वर्षीया महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । घटनाको भिडियोसहित पीडित पक्ष बिहीबार बिहान प्रहरी कार्यालय पुगेपछि घटना बाहिर आएको हो । पीडित पक्षले किटानी जाहेरी दिएपछि कुटपिटमा संलग्न धनहीरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नो शरीरमा धामी उत्रिएकोभन्दै उनी थाल बजाएर मंगलबार साँझबाट चिन्ता बसेकी थिइन् । त्यही चिन्ता हेर्न आएकी छिमेकी महिलालाई धनहीराले बुधबार बिहान ४ः३० बजेतिर बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धामी बस्दा प्रयोग गरेको त्रिसुलले प्रहार गरिएकी महिलाको पेट, हात, काँध, पाखुरा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । चोट लागेको ठाउँबाट धेरै रगत पनि बगेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएर उठ्न नसक्ने बनेकी पीडित बुधवार दिनभर ओछ्यान परेकी थिइन् ।
चिन्ता बसेको ठाउँमा आएर जथाभावी गरेको र बोक्सीको तन्त्रमन्त्र गर्दैै धामीविद्यामा असर पु¥याएको भनेर आफूलाई धनहीराले कुटपिट गरेको पीडितले बताएकी छन् । पीडित महिलाका श्रीमान अर्को बिहे गरेर तीन वर्षदेखि झापाको सुरुङ्गामा बस्दै आएको खुलेको छ । घरमा देवरका ८ वर्षीय छोरासहित पीडितमात्रै बस्थिन् । घटना थाहा पाएपछि श्रीमान आएर उनलाई उपचारका लागि लगेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले कुटपिट गर्ने महिलाविरुद्ध बोक्सी आरोपको कसुरमा कारबाही अघि बढाउन अनुसन्धान थालिएको बताए । प्रहरीले पीडित महिलाको बेलबारीमा उपचार भएको जनाएको छ ।