मोरङ । सुनसरी प्रहरीले दुई युवतीलाई बुधबार उद्धार गरेको छ। पैसाको प्रलोभन देखाई बलि दिन लगिएको आशंकामा नेपाल–भारत सीमावर्ती क्षेत्र भण्टाबारीबाट युवतीद्वयलाई उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका उपरीक्षक कमल थापाका अनुसार सप्तरीको दौलतपुर नगरपालिका–३ बस्ने १८ वर्षीया विपना चौधरी र शम्भुनाथ नगरपालिका–७ बस्ने २२ वर्षीया सुचिकला चौधरीको उद्धार गरिएको हो। युवतीलाई भारत लाने क्रममा सिरहाको कृष्णसवण गाउँपालिका–४ बस्ने २९ वर्षीय महमद साहिल अन्सारी र लाहान नगरपालिका–१९ बस्ने ३२ वर्षीय विवस कुमार साह पक्राउ परेका उपरीक्षक थापाले बताए। नेपाल–भारत सीमा भण्टाबारी बीओपीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीका अनुसार युवतीलाई लिएर सुनसरीको कोशी गाउँपालिका–८ पूर्वी टोल र भारतीय सीमा क्षेत्र सुपौलको भीमनगर ग्राम पञ्चायत–१२ मा पर्ने बोर्डर पार गर्न लागेका बेला दुबै तर्फका सीमा सुरक्षामा खटिएका प्रहरीले रोकेर सोधपुछ गर्ने क्रममा उनीहरु समातिएका हुन्। प्रेमिका बनाएर सीमापार भारतको मन्दिरमा बाबाजीको पूजा भइरहेकाले दर्शन गराउन लगिएका युवतीलाई उनीहरुले प्रेमिका बनाएर लैजाने प्रयास गरेका थिए। प्रहरीका अनुसार घटनाका प्रमुख योजनाकारसमेत रहेका मन्सुरीले सुचिकलालाई प्रेमिका बनाएर सीमापार गर्ने योजना बनाएका थिए। सोहीअनुसार उनले प्रेमको जालमा फसाएर सुचिकार र उनकी साथी विपनलाई भारतको मन्दिरमा बाबाजीको पूजा भइरहेकाले दर्शन गराउने योजना बुनेका थिए।
प्रहरीलाई उनीहरुले यही बयान दिएका छन्। उपरीक्षक थापाले भने, ‘सुचिकलालाई मन्सुरीले प्रेमिका बनाएर फसाउन खोजेको अनुसन्धानबाट खुलेको छ।’ बाबाजीको पूजामा सहभागी भएपछि बाबाजीले ४ लाख रुपैयाँ दिने सर्तमा आफूहरुलाई सुनाएपछि दर्शन गर्न राजी भएको युवतीहरुले बताएका छन्।’ अविवाहित युवतीको खोजी धार्मिक अन्धविश्वासको कारण भारतमा मानव बलि दिने चलन कायमै रहेकाले अविवाहित र कुनै पुरुषसँग संसर्ग नगरेको युवतीको खोजी गर्दै भारतीय गिरोहले आर्थिक लोभ देखाएर नेपाली नागरिकलाई नै परिचालन गरेको अनुसन्धानबाट खुलेको छ।