भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्यत् बिस्तार गर्न प्रक्रिया अगाडि बढेको छ। उज्यालो गाउँपालिका बनाउने लक्ष्यका साथ विद्युत् बिस्तार गर्न बोलपत्र आह्वान गरिएको हो। वडा नम्बर १ श्यामशीलादेखि वडा नम्बर ६ ठूलोदुम्मासम्म विद्युत् वितरण गर्नको लागि बोलपत्र प्रक्रिया बढिसकेको गाउँपालिकाले जनाएको छ।
चालु आर्थिक वर्षभित्र विद्युत् विस्तार गरिसक्ने लक्ष्यका साथ काम सुरु भएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। ‘उज्यालो गाउँपालिका बनाउने हाम्रो लक्ष्यलाई पूरा गर्न विद्युत् विस्तारको लागि बोलपत्र आह्वान भएको छ,’ उनले भने, ‘कामको दौडानमा कुनै चुनौती नआएमा चालु आर्थिक वर्षभित्रमा विद्युत् विस्तारको काम सम्पन्न हुन्छ।’ गाउँपालिकाले सबै घरमा उज्यालो बनाउनका लागि सरोकारवाला पक्षसँग समन्वय गरेर कामको थालनी गर्न लागेको अध्यक्ष राईले बताए । यसले जनताको विकासको चाहानालाई पूरा गर्न धेरै मद्दत पुग्ने उनको भनाइ छ।