पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत शिक्षकहरुको सूचना प्रविधि सम्बन्धी क्षमता विकासका निम्ती अनलाइन तालिम कार्यशाला सञ्चालनका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयसँग सम्झौता गरेको छ।
पथरी शनिश्चरे नगरपालिका कार्यालयमा मंगलवार भएको सम्झौतापत्रमा सामाजिक विकास मन्त्रालयकाका शाखा अधिकृत मानबहादुर देवकोटा र नगरपालिकाको तर्फबाट शिक्षा अधिकृत नविन खुलालले हस्ताक्षर गरेका हुन् । सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेल र नगरपालिकाका उपसचिव शालिग्राम काफ्लेको रोहबर रहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र पथरी शनिश्चरे नगरपालिकाको संयुक्त आर्थिक व्यवस्थापनमा तालिम हुने भएको हो ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षता तथा संविधानसभा सदस्य चण्डीप्रसाद राईको प्रमुख आतिथ्यतामा प्रदेशसभा सदस्यहरु लिलाबल्लभ अधिकारी र कृष्णकुमारी राई अतिथि रहेको गोष्ठीमा शिक्षा शाखाका प्रतिनिधि, शिक्षक प्रतिनिधि सहितको सहभागिता रहेको थियो ।
६० दिनको अनलाइन कक्षाका लागि नगरबाट ९० जना सामुदायिक र १० जना संस्थागत विद्यालयका गरी १ सय जना शिक्षकको सहभागिता रहने सम्झौता भएको नगरका शिक्षा शाखाका प्राविधिक सहायक देवेन्द्र जोशीले जनाए । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ बमोजिम अनलाइनमार्फत हुने यस प्रकारको तालिम चाँडै सञ्चालन गरिने उनले जानकारी दिए ।