शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा विभिन्न स्थानमा रोगप्रतिरोधात्मक क्षमता बढाउने होमियोपेथिक औषधी निःशुल्क रुपमा वितरण गरिएको छ । मारवाडी सेवा समिति काठमाडौंद्वारा सौजन्य प्राप्त औषधी नेपाल कम्युनिष्ट पार्टी नेकपा ८ नं. वडा कमिटी पथरीशनिश्चरे र नेपाल पत्रकार मञ्चले कार्यक्रमको आयोजना गरी वितरण गरेका हुन् ।
सोमबार नेकपा वडा कमिटी र नेपाल पत्रकार मञ्चले ८ नं. वडाका गुरांसचोक, कुशे, राई डांडा र नेवार टोललाई समेटेर राई डांडामा औषधी वितरण गरेको हो । सोमबार विहान राईडांडामा भेला भएका सयौं स्थानीयवासीलाई सामाजिक दुरी कायम गरी नेकपा वडा संयोजक नविनजंग कार्की, नेपाल पत्रकार मञ्चका अध्यक्ष मोहन भट्टराईलगायत युवा समाजसेवीहरुको उपस्थितिमा औषधी वितरण गरिएको थियो ।
कार्यक्रममा नेकपा वडा संयोजक कार्कीले कोरोनाको महामारीका कारण अर्थतन्त्रसंगै मानिसको स्वास्थ्यमा पनि असर गरेको हुनाले अन्य रोग संगै कोरोनाबाट समेत बच्नका लागि औषधी वितरण गरिएको जानकारी दिए ।
नेकपा वडा कमिटिले अपरान्ह ४ बजे ८ नं. वडाको दोहलु शुक्रबारे बजारमा निःशुल्क औषधी विगरण गरेको थियो । कार्यक्रममा पहिलो संविधान सभा सदस्य लालबहादुर सुस्लिङ, नेकपा जिल्ला सदस्य टंक भण्डारी, कम्युनिष्ट नेता महेन्द्र विष्ट, युवा समाजसेवी दिपेन्द्र पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य सुस्लिङले कोरोनाको महामारीका कारण नागरिक अस्पतालसम्म पुगेर उपचार गर्न नसकिरहेको अवस्थामा नेकपाले निःशुल्क होमियोपेथिक औषधी वितरण गरेर उदाहरणीय कार्य गरेको बताए । उनले निःशुल्क रुपमा रोग प्रतिरोधात्मक औषधी उपलब्ध गराउने मारवाडी सेवा समिति काठमाडौंलाई समेत धन्यवाद दिए ।
यसरैगरी, नेकपा जिल्ला सदस्य टंक भण्डारीले स्वास्थ्य मन्त्री भानुभक्त ढकालको क्षेत्रमा नेकपाले जनस्वास्थ्यको कामको सुरुवात मात्र भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
नेकपा वडा कमिटी र नेपाल पत्रकार मञ्चको आयोजनामा सम्पन्न दुवै स्थानका कार्यक्रममा करिव एक हजार घर परिवारलाई रोग प्रतिरोधात्मक औषधी वितरण गरिएको थियो ।