दमक । एक नम्बर प्रदेश सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले खेल क्षेत्र र खेलाडीलाई प्रोत्साहन गर्न सरकारले महत्वका साथ बजेट विनियोजन गर्ने बताएकी छिन् । शनिबार दमकमा तेक्वाण्डो एसोसियसन प्रदेश नं. १ को १९औं वार्षिकोत्सव तथा खेलाडि, प्रशिक्षक र जिल्ला संघ सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
सामाजिक विकास राज्य मन्त्री गजमेरले खेलाडीलाई राज्यले प्रोत्साहन, हौसला गर्नुपर्नेमा त्यसो हुन नसकेको स्वीकार्दै आगामी दिनमा बजेट विनियोजिन गर्दा अन्यक्षेत्र संगै खेलकुदलाई पनि महत्व दिइने बताइन् । गजमेरले १ नं. प्रदेशमा खेलकुद ऐन बनेको जानकारी दिंदै अब खेलकुद बोर्ड गठन गर्दा समानुपातिक प्रतिनिधित्व गराउने प्रतिबद्धता समेत गरिन् ।
खेलकुदले आत्मबल बढाउनुका साथै यसले खेलाडीको स्वर्णीम भविष्य बनोस भनी शुभकामना समेत दिइन् ।
कार्यक्रममा नेकपा दमक नगर कमिटी सचिव तीर्थराज बस्नेतले खेलक्षेत्र राज्य र राजनीतिबाट समेत ओझेलमा परिएको बताए । उनले खेलकुद क्षेत्रमा छुटिएको रकम सबै खेललाई समान रुपमा विभाजन गर्नुपर्नेमा जोड दिए ।
वार्षिकोत्सव तथा खेलाडी, प्रशिक्षक र जिल्ला संघ सम्मान कार्यक्रममा वर्षको उत्कृष्ट महिला खेलाडीमा मोरङकी केरिषा आचार्य सम्मानित भएकी छिन् । पुरुष तर्फ वर्षको उत्कृष्ट खेलाडी झापाका रोशन मगर, वर्षको उत्कृष्ट प्रशिक्षक मोरङका चतुरलाल चौधरी र उत्कृष्ट उदीयमान प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भएका थिए । यस्तै वर्षको उत्कृष्ट जिल्ला संघमा झापा जिल्ला तेक्वाडो संघलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट सबैलाई कार्यक्रमकी प्रमुख अतिथि सामाजिक विकास राज्य मन्त्री गजमेर, नेकपा दमक नगर सचिव बस्नेत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १ का अध्यक्ष अर्जुन जम्नेली राई, नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघका उपाध्यक्ष प्रविन कार्कीलगायतले अविर, खदा र सम्मान पत्रले सम्मानित गरेका थिए ।
तेक्वाण्डो एसोसियसन प्रदेश नं. १ का सचिव चन्द्रबहादुर तामाङको अध्यक्षमा सम्पन्न कार्यक्रमलाई चतुरलाल चौधरीले स्वागत र पत्रकार विवेक न्यौपानेले सञ्चालन गरेका थिए ।