संखुवासभा । कोरोना भाइरस संक्रमणका कारण रुद्राक्षको व्यवसायमा करोडौँ डुब्ने सम्भावना रहेको छ। नेपालको रुद्राक्षको राजधानी भनेर चिनिएको संखुवासभा र भोजपुरमा रुद्राक्ष कारोबार ठप्प भएको हो। भारत र चीनमा बिक्री हुँदै आएको रुद्राक्ष यो वर्ष बिक्री ठप्प भएको छ। रुद्राक्ष खरिद गर्न चीन तथा भारतबाट व्यापारीहरु आउने गर्दथे। रुद्राक्षको मुख्य कारोबार हुने साउन र भदौ महिनामा समेत लकडाउन भएकाले कारोबार ठप्प भएको हो।
विगतका वर्षहरुमा रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरेकाहरु यस वर्ष आफ्नो करोडौंको लगानी डुब्ने हो कि भन्ने चिन्तामा परेको रुद्राक्ष व्यवसायी राजकुमार घिमिरेले बताउँछन्। कोरोना भाइरस संक्रमण र लकडाउनका कारण चिनियाँ व्यापारी नेपाल आउने सम्भावना निकै कम भएको घिमिरेले बताए। रुद्राक्ष खरिद गर्न गत वर्ष ३०० भन्दा बढी चिनियाँ व्यापारी संखुवासभा आएका थिए। तर, यस वर्ष १५ जना आइपुगेको उनले बताए। चिनियाँ ब्यापारीले संखुवासभाका विभिन्न क्षेत्रका किसानका रुद्राक्ष बगान नै ठेक्का लिने गरेका थिए।
गत वर्ष आफ्नो टिमले २० करोड रुपैयाँ बराबरको रुद्राक्ष कारोवार गरेको भए पनि यस वर्ष १० देखि १२ करोड मात्र हुन सक्ने घिमिरेले भनाइ छ। संखुवासभामा गत बर्ष २ अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष कोरोबार भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्रबहादुर बिसुन्केले जानकारी दिए। उनका अनुसार कोरोना भाइरसका कारण चिनियाँ र भारतिय व्यापारीहरु संखुवासभा आउने सम्भावना कम हुँदा करोडौंको लगानी डुब्ने त्रास छ। विगतका वर्षहरुमा चिनियाँ व्यापारीले सदरमुकाम खाँदबारी, तुम्लिङटार,चैनपुर लगायतका होटल भरीभराउ हुन्थे। तर, होटल समेत सुनसान छन्। गुणस्तरीय रुद्राक्ष फलाउन धेरै व्यवसायीले गाउँगाउँका रुद्राक्ष बगान ठेक्कामा लिएर बोटमा औषधि लगाएका छन्। बाँकी रकम बोटबाट टिपेपछि दिने सर्तमा अधिकांश रुद्राक्ष धनीलाई अग्रिम पेश्की दिएका छन्।