कानेपोखरी । लकडाउनका कारण विपन्न परिवारको चुल्हो निभ्न नदिन कानेपोखरीका ४ वटा परोपकारी संस्थाहरुद्वारा सञ्चालनमा ल्याइएको फुड बैंकलाई अमेरिकाबाट १० हजार आर्थिक सहयोग प्राप्त भएको छ। हाल अमेरिका निवासी कानेपोखरी ७ बरगाछीमा स्थायी ठेगाना भएका विदुर भट्टराईले आफ्नो स्वर्गीय पिता गेहनाथ भट्टराईको स्मृति सो रकम आईतबार प्रदान गरेका हुन। विदुरका काका बद्रीप्रसाद भट्टराईद्वारा फुड बैंकका संयोजक हिमप्रसाद तिम्सिना,सदस्य गणेश सुवेदीलगायतलाई एक कार्यक्रमका बिच सहयोग हस्तान्तरण गरिएको हो।
फुड बैंक संयोजक हिमप्रसाद तिम्सिनाका अनुसार भदौ १२ गतेबाट १९ गतेसम्म चलेको पहिलो चरणको कार्यक्रम कानेपोखरी ७ बरगाछीमा सञ्चालनमा ल्याइएको थियो अब दोश्रो चरणको कार्यक्रम चाडैं अर्को स्थानमा सुरु गरिने उनले बताए । पालिकाभित्र र बाहिर बसोबास गर्ने अति विपन्न, असहाय, असक्त प्रति परिवार ३ किलोग्राम चामल, १ केजी दाल,आधा लिटर खाने तेल,१ केजी नून र १ केजि स्याबिनसहित १ वटा साबुन उपलब्ध गराइएको थियो। पालिका भित्रका विभिन्न संस्थामा आवद्ध सहयोगि मनहरुले साथै अन्य मनकारी मानिसहरुले खाद्यान्न साथै आर्थिक सहयोग निरन्तर गरिरहेका छन्।
हालसम्म ६ सय ३७ परिवारले राहत लगिसकेका छ्न भने १ लाख ५० हजार रुपैयाँ बढीको जिन्सी र नगद प्राप्त भईसकेको बैंक संयोजक तिम्सिनाले जानकारी दिए । हुनेले दिने,नहुनेले लिएर जाने भन्ने मुलनाराका साथ कानेपोखरीका परोपकारी संस्थाहरु नेपाल रेडक्रस सोसाइटी बयरबन उपशाखा,रमाइलो जेसिस,व्यापार प्रबन्ध समिति र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा बैक सञ्चालन गरिएको हो।