वाग्लुङमा गएको पहिरोमा पुरीएका १४ जनाको शव भेटिए, अझै ३९ बेपत्ता - Pahilo Online

वाग्लुङमा गएको पहिरोमा पुरीएका १४ जनाको शव भेटिए, अझै ३९ बेपत्ता

writer

बागलुङ । वाग्लुङको ढोरपाटन नगरपालिका ९ मा बुधबार राति बाढी पहिरोमा परी १४ जनाको मृत्यु भएको छ । मृतक सबै एकै वडाका रहेका थिए । घटनामा ३९ जना बेपत्ता भएका छन् । ढोरपाटनको देउरालीदेखि खसेको पहिरोले यहाँका तीनवटा बस्ती बगाएको हो । बिहीबार दिनभर गरिएको खोजी तथा उद्धार कार्यमा १४ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । मृत्यु भएकामध्ये २६ वर्षीया केशमाया बिक र बिरे बिकको मात्रै सनाखत भएको हो । सबै बेपत्ताको खोजी भइरहेको प्रहरीले बताएको छ ।

बुधबार रातको समयमा खसेको पहिरोले धेरैले ज्यान गुमाउनु परेको थियो । केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारी चौर र बुर्तिवाङ तथा बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । केही शव क्षतबिक्षत अवस्थामा भेटिएकोले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । देउरालीदेखि खसेको पहिरो र बाढीले तीनवटा बस्तीका ४० घर बगाएको छ । अधिकांश घरको भग्नावशेष समेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगिरहेको छ ।

ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजी खोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा क्षति पुगेको स्थानीयले बताएका छन् । तर खोला कतिन्जेल थुनियो भन्ने कसैले बताएको छैन । बुधबार बेलुकी दुई घन्टा जति थुनिएको हुन सक्ने स्थानीय शिक्षक यामबहादुर कायतले बताए । थुनिएको पानीले बाढीको रुप लिएपछि सबैको घर भत्काएको उनको भनाइ छ ।

उद्धारका लागि इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा टोली गएको थियो । दिउँसो नेपाली सेनाको घोडाबाँधेस्थित अर्जुन बाँण गणको टोली पनि पुगेको थियो । बेपत्ताहरु धेरै भएकोले शुक्रबार पनि उद्धार गरिने छ । स्थानीयले खानेपानीका मुहान पनि बगेकोले बाँचेकालाई पनि सास्ती हुने देखिएको कायतले बताए । बोबाङमै सञ्चालित पुरानो स्वास्थ्य चौकी तथा गाउँघर क्लिनिक पनि पुरै बगाएकोले औषधि अभाव भएको स्वास्थ्यकर्मी दिपक थापाले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes