पथरी शनिश्चरे । पथरी शनिश्चरेमा सञ्चालित फुड बैङ्कले वडा नं ४ मा खाद्यान्न वितरण गरेको छ। कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि पुनःदोस्रो पटक जारी बन्दाबन्दी (लकडाउन) कारण समस्यामा परेका विपन्न परिवारलाई राहत स्वरुप बिहिबार वितरण गरीएको हो ।
‘हामी छौ त केवल एकअर्काको लागि छौ’ भन्ने मुल नारा सहित अघि बढिरहेको फुड बैङ्कले वडाले सिफारीस गरेको १३० परीवारको लागि प्रतिपरीवार ५ के.जी चामल, १ पोका तेल र आधा के.जी दालको प्याकेजमा वितरण गरेको फुडबैंकका सदस्य सुमन बि.के ले जानकारी दिए ।वितरण कार्यक्रममा वडाअध्यक्ष, वडासदस्यहरु, कर्मचारी लगायत सुरक्षाकर्मीको उपस्थिति रहेको थियो। वडाअध्यक्ष गोविन्द बहादुर भण्डारीले फुड बैङ्कको कामको प्रसंसा गर्दै धन्यवाद दिएका थिए । प्रदिप कुमार राईको नेतृत्वमा सञ्चालन भईरहेको फुडबैङ्कमा हाम्रो फाउनडेसन, सी.एम.सी पथरीशनिश्चरे, गरीमा अनलाइन र प्रतिभा समाज सुधार क्लवले व्यवस्थापन तथा साझेदारी गरीरहेको छ ।
स्वदेश तथा विदेशमा भएका नेपाली दाजुभाई दिदीबहिनी र विभिन्न संघ संस्था बाट आर्थिक र खाद्यन्न सामग्री सयोग संकलन गरी सञ्चालन भईरहेको फुड बैङ्कले बुधबार वडा नं ८ मा १७१ र वडा न. ६ मा १५६ विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो । यसरी नै अन्य वडाहरुमा पनि वितरण गरीने योजना रहेको छ । प्रमुख फुड बैङ्क स्थल पथरिशनिश्चरे वडा नं १० मा भने आवश्यक भएका व्यक्तिहरुलाई नियमित रुपमा वितरण भईरहेको पनि फुड बैङ्कले जानकारी दिएको छ ।