मोरङ । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस संक्रमीत थपिएका छन् । योसहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । थपिएका संक्रमितमा ३२० महिला र ८०० पुरुष छन् ।
मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन् । क्वारेन्टिनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । काठमाडौं उपत्यकामा बुधबार थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जस्तै काठमाडौंका ३५०, ललितपुरका २९ जना र भक्तपुरमा ९ जना छन् ।