पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित सुन्दर वस्तीका ७६ घर परिवारलाई आज(सोमबार) नगरपालिकाले खाद्यान्न राहत उपलब्ध गराएको छ । सुन्दर वस्तीका एकजनामा कोराना भाइरस देखा परेपछि हिजोबाट सो वस्तीलाई नै शिल गरिएकाले दैनिक ज्याला मजदुर रहेको त्यहाँ खाद्यान्न राहत उपलब्ध गराइएको हो ।
नगर उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति सदस्य यमुना विष्ट वास्तोला, समितिका सदस्य एवम् पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, समिति सदस्य चन्द्रकुमार राई सहितको टोलीले राहत प्रदान गरेको हो । जसमा, सोही टोलकी वडा सदस्य रोमान्सी धिमाल सहितको उपस्थितीमा नगरमा मौज्दात रहेको राहत सामग्रीबाट प्रति परिवार १० किलोग्राम चामल, १ किलोग्राम नून र आधा लिटर खानेतेल वितरण भएको छ ।
कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिले भदौ १७ सम्म घोषित लकडाउनलाई कडाइका साथ पूर्ण पालना गर्न अनुरोध गर्दै सोही अवधिसम्मका लागि १ जना संक्रमित देखिएको सुन्दरबस्तीलाई पुरै सिल गरिने निर्णय गरेको छ । अर्का संक्रमित देखिएको हनुमानचोक र अन्नपूर्ण चोक दक्षिणका अर्का संक्रमितको घरपरिवार सहित आसपासका घरलाई समेत सिल गरी बाहिर कोहीसँग सम्पर्क हुन र आवतजावत गर्न प्रतिवन्ध गर्ने निर्णय भएको छ ।
यसैगरी, मृत्यु भएपछि कोरोना देखिएका २ नम्वर वडाको देवीगञ्जका एक परिवार र आपसपासका घरलाई पनि उसैगरी बाहिर सम्पर्क हुन र आवतजावत गर्न प्रतिवन्ध गरिएको नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक दिलीपकुमार राईले जानकारी दिए । मृत्यु भएको एकजनामा समेत कोरोना देखिइ संक्रमितको संख्या बढेपछि अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरेका छन् । यस अवस्थामा जारी लकडाउनलाई नगरवासीले पूर्णरुपमा पालना गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेको उनले जानकारी दिए ।