पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे २ देवीगञ्जमा निधनपछि कोरोना पुष्टि भएका व्यक्तिका परिवारका सदस्य तथा आफन्तलाई आज(सोमबार) नगरपालिकाको टोलीले भेटेर सहानुभूति र समवेदना प्रकट गरेको छ ।
नगर उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति सदस्य यमुना विष्ट वास्तोला, समितिका सदस्य एवम् पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, समिति सदस्य चन्द्रकुमार राई सहितको टोली पिडीत परिवारको घर पुगेको थियो । टाढा बसेर सहानुभूति दिन समेत छरछिमेकीहरु त्रसित बनेको अवस्था दर्शाउँदै पिडीत परिवारले नगरपालिकाको टोली आउँदा आफुहरुलाई दुःखलाई सहने शक्ति मिलेको बताएको छ ।
काजक्रियाको १३ दिनसम्मको दैनिक कर्म गराउन पुरोहित समेत त्रसित बनेर दैनिक कर्ममा समस्या भइरहेको अवस्थामा आज(सोमबार) नै स्थानीयले पुरोहितको प्रवन्ध गरेका छन् । भौतिक दूरी कायम गरेर अत्यन्तै स्वास्थ्य सतर्कता अपनाएर परैबाट काजक्रियाको दैनिक कर्म गर्न स्थानीयले पुरोहितलाई सुझाव दिएका छन् । १० दिन अघि विरामी परेर विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गर्न गएका ६५ वर्षीय पुरुषको भदौ १३ गते निधन भयो । उपचारको प्रारम्भिक अवथामा कोरोना नदेखिएपनि निधनपछि जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।