मोरङ । कोराना भाइरसको संक्रमणको अवस्था दिनानुदिन बढ्दै गएपछि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई मोरङका ६ वटा स्थानीय तहका प्रमुखहरूले ध्यानाकर्षण गराएका छन् । शुक्रबार कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा मोरङको रतुवामाई, सुनवर्षी, रंगेली, धनपालथान, कटहरी र जहदाका प्रमुख तथा अध्यक्षहरूले मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भेट गरी ध्यानाकर्षण गराएका हुन् ।
रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले पीसीआर परीक्षणको रिपोर्ट आउन ४–५ दिन लाग्ने, लक्षण देखिएका संक्रमितहरूलाई कोभिड अस्पतालले भर्ना लिन नमान्ने र लकडाउनको मौका छोपी सीमा क्षेत्रमा हुने तस्करीका कार्यहरूलगायतका समस्याहरू तत्काल समाधानका विषयमा ध्यानाकर्षण गराए ।
यसैगरी स्थानीय तहले निर्माण गरेको आइसोलेसन वार्डको व्यवस्थापनमा सहयोग गर्न पनि माग राखेका छन् । मुख्यमन्त्री शेरधन राईले पालिकाहरूले गराएको ध्यानाकर्षणको विषय तत्कालीन आवश्यकताअनुसार गम्भीर रहेको भन्दै समाधानका लागि प्रदेश सरकारले उचित कदम चाल्ने बताए ।