आजबाट पथरीशनिश्चरे नगर क्षेत्र अनिश्चितकालका लागि शिल - Pahilo Online

आजबाट पथरीशनिश्चरे नगर क्षेत्र अनिश्चितकालका लागि शिल

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा समुदायस्तरमा समेत कोरोना भाइरस फैलिएको आशंका गर्दै शनिबार बिहान १० बजेबाट नगर क्षेत्र अनिश्चितकालका लागि बन्द गर्दै शिल गरिएको छ । कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले अत्यन्तै स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा अनुरोध गर्दै बिहान १० बजेबाट अस्पताल र औषधि पसल बाहेक सम्र्पूण खाले पसल, ब्यवसाय, कार्यालय, वित्तिय संस्था, यातायात संचालन सहित हिडडुलमा पूर्ण प्रतिबन्ध गरिएको बताए । नगरको सो आव्हानलाई पूर्ण रुपमा पालना गरी कोरोना भाइरसबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन नगरवासीमा उनले आग्रह गरे । अर्काे सूचना नभएसम्मका लागि पूर्ण बन्द गरी नगर क्षेत्रबाट कोही अन्यत्र जान र अन्यत्रबाट नगर प्रवेश गर्न रोक्ने गरी शिल गरिएको हो ।

अत्यावश्यक खाद्यान्न, सब्जी, फलफुल, दुधजन्य पदार्थ विहान ६ देखि विहान ९ बजेसम्म मात्र विना भिडभाड सञ्चालन गरिसकेपछि १० बजेबाट नगरलाइ शिल गरियो । नगर उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति सदस्य यमुना विष्ट वास्तोलाको अगुवाईमा समिति सदस्य एवम् पथरी उद्योग वाणिज्य संघ अध्यक्ष दीपक बस्नेत, १ नम्वर बडाध्यक्ष बाबुराम एङ्देन सहित इलाका प्रहरी, नगर प्रहरीमार्फत अटेर गर्ने पसल वन्द गराउँदै सवैलाई घर बस्न अनुरोध गरिएको छ ।

सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका नगरका १ जना २३ वर्षीय पुरुषमा हिजो कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा कोरोना भाइरस फैलिएको हुनसक्ने बुझेर शिल गर्ने अवस्था आइपरेको हो । भदौ २ गते पथरी शनिश्चरेको आफ्नो घरबाट काम गर्न सो फ्याक्ट्री गएका उनलाई फ्याक्ट्रीले सोही दिन पीसीआरको स्वाब संकलन गराएको थियो । सो को रिपोर्ट हिजो पोजेटिभ आएपछि ती युवा आफुसँग गएका २ जना साथीसँग अटो रिक्सा चढेर पथरी बजार आइपुगेको पत्ता लागेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । उनीसँग सम्पर्क भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गरिने छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा अन्य २ युवाको रिपोर्ट भनें नेगेटिभ आएको थियो ।

फ्याक्ट्री पुग्नु अघि नै ती युवा कोरोना संक्रमित भएको हुनसक्ने बुझिएको छ । उनलाई कोभिड अस्पताल गोठगाउँ पठाइएको छ भनें अन्य २ जनालाई नगरको क्वारेन्टिनमा राखिएको छ । नगरमा हालसम्म १ जना भारतीय सहित ८ जनामा कोरोना भाइरस देखिएको छ । जसमध्ये ६ जना निको भएर घर फर्किसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes