मोरङ । कोरोनाले महामारीको रुप लिइरहेको बेला सबै सीमा नाका बन्द गरीएको समयमा पनि प्रदेशको राजधानी जोड्ने नाका जोगबनी बजार मा कोरोनाको प्रबाह नगरी साँझ र विहान नेपाली सामान खरीदका लागि जाने गरेको पाइएको छ । नाका सिल गरिएको भए पनि सुरक्षाकर्मीको आँखा छल्दै चोर बाटो प्रयोग गरेर जाने गरेका छन् । भारतीय बजारमा सामान खरिद गरेर विराटनगर प्रवेश गर्न नदिँदा बुधबार राति विराटनगर–१७ इस्लामपुरमा सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास भयो । कोरोना भाइरसको महामारीका कारण नेपालबाट भारत र भारतबाट नेपालतर्फ आवत–जावत गर्न नदिँदा नाकामा खटिएका सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको हो ।
सामान खरिद गर्ने बहानामा भारततर्फ गएकालाई नेपाल र सशस्त्र प्रहरीले उतै रोक्न खोजेपछि सीमा क्षेत्र तनावग्रस्त बन्यो । उनीहरूले भारतीयको सहयोगमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न खोजेको प्रहरीले जनाएको छ । यसरी एकै पटक मानिसहरूको भीडभाड हुँदा सीमा नाका वरपरका स्थानीय त्रसित बन्न थालेका छन् । विराटनगर–१७ इस्लामपुरका ३०–३५ जनाको समूह लुकीछिपी चोर बाटो हुँदै सामान खरिद गर्ने बहानामा भारततिर गएको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख इन्स्पेक्टर दीपक थापाले बताए । ‘साँझको समयमा सामान लिएर भारतबाट फर्कने क्रममा उनीहरू जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि रोक्न खोज्दा अवस्था तनावपूर्ण बन्यो’–उनले भने ।
कोरोनाका कारण नेपाल–भारत आवत–जावतमा पूर्णरूपमा रोक लगाउँदै सीमा क्षेत्रमा कडाइ गर्ने काम भइरहेको उनले बताए । एक्कासि भारततिरबाट तीन–चार सयको हुल आएर सीमा क्षेत्रमा खटिएका नेपाल र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । थप मद्दतका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएपछि आक्रमणमा उत्रन खोजेकाहरू राति ९ बजेपछि भागेको बताइएको छ । हुलहुज्जत गर्दै आएको समूहलाई नेपाल प्रहरीसँग समन्वय गर्दै भारतीय प्रहरीले पनि लखेट्न सहयोग गरेको इन्सपेक्टर थापाले बताए ।
कोरोना सङ्क्रमण दर उच्च रहेको भारततर्फ लुकिछिपी जाने र सामान खरिद गरेर फर्कने क्रम रोकिएको छैन । त्यस्तालाई प्रहरीले रोक्न खोज्दा सीमा क्षेत्रमा तनाव हुने गरेको छ । विराटनगर–१७ का मञ्जे यदावले केही दिनका लागि सीमा सिल गरेर सावधानी अपनाउनु पर्ने भए पनि कोरोनाको कुनै प्रभाव नगरी भारतीय बजार जाने गरेको बताए । ‘स्वास्थ्यमा खेलवाड गर्नु हुँदैन । भारतमा कोरोना भाइरस देखिएकाले खुला रूपमा मानिसहरू आउने जाने गर्दा जोखिम बढ्छ । जथाभावी मानिस आवात–जावत गर्दा हामीलाई पनि त्रास बढेको छ’–उनले भने ।
सामान खरिद गर्ने बहानामा कोरोना महामारीका बेला नेपालबाट जानेलाई भारतीय व्यापारीहरूको सहयोग रहने गरेको छ । नेपालीहरूकै कारण आफ्नो व्यापार चल्ने भएपछि त्यहाँका व्यापारीले नेपाल–भारत अवात–जावतमा नेपालीलाई साथ दिँदै आएको प्रहरीको भनाइ छ । त्यही भएर भारत छिरेकालाई नेपाल प्रवेश गर्न खोज्दा रोक्यो भने हुलहुज्जत र हो–हल्ला गर्दै प्रहरीलाई तर्साउन तथा आक्रमण गर्न खोज्ने गतिविधिमा भारतीय नागरिक एवम् त्यहाँका व्यापारीले सहयोग गर्ने गरेका छन् ।