कोरोना संक्रमित उपचारका लागि कोशीमा पाँच बेडको भेन्टिलेटर जडान - Pahilo Online

कोरोना संक्रमित उपचारका लागि कोशीमा पाँच बेडको भेन्टिलेटर जडान

writer

विराटनगर । कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भेन्टिलेटर सुविधा सहितको सेवा सुचारु भएको छ। कडा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा १० बेडको आईसीयूसहित पाँच बेडको भेन्टिलेटर सुविधा जडान गरिएको हो । अस्पतालमा २ वटा स्थायी रुपमा र तीन वटा पोर्टेवल भेन्टिलेटर जडान गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उपचार केन्द्रमा आईसीयू सेवा सञ्चालनमा आईसकेको थियो । कोशी कोभिड–१९ उपचार केन्द्रमा हाल तीनजना विरामी आईसीयूमा उपचाररतः रहेको अस्पतालका इन्चार्ज डा.दिपक सिग्देलले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयले सेवा विस्तारको विषयमा जानकारी दिनका लागि बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेको हो । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार आईसीयू र भेन्टिलेटरका लागि आवश्यक स्वास्थ्य जनशक्ति तत्कालका लागि कोशी अस्पताल र कोभिड उपचार केन्द्रमै रहेकाहरुबाट व्यवस्थापन गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

आईसीयू र भेन्टिलेटर सेवाका लागि आवश्यक जनशक्तिसहित व्यवस्थापनको अभाव भएको भन्दै कोभिड उपचार केन्द्रमा कार्यरत चिकित्सकहरुले गुनासो गर्दै आएका थिए । अक्सिजन आपूर्ती र २४ सैं घण्टा बिद्युत आपूर्तिको व्यवस्थापन मिलाउन पर्ने माग चिकित्सकले गरे अनुसार मन्त्रालयले त्यसको प्रवन्ध गरेको सचिव कार्कीको दावी छ ।

कोभिड–१९ उपचार केन्द्र सञ्चालनका लागि कोशी अस्पतालका मेसु डा.चुमनलाल दास, वरिष्ठ चिकित्सक डा.दिपक सिग्देल, डा.डेन आचार्य र डा.रुपेश गामी सम्मिलित विशेषज्ञ चिकित्सकको टोलि परिचालन भएको छ । तत्काल कोशी र कोभिड उपचार केन्द्रको जनशक्तिले आईसीयू र भेन्टिलेटरमा राखिएका विरामीलाई उपचार सुविधा दिने तर थप जनशक्तिलाई तयारी अवस्थामा राख्ने काम गरिने भएको छ ।
त्यसका लागि १० जना मेडिकल अफिसर र ३० जना स्फाट नर्सलाई क्रिटिकल केयर तालिममा आइतबारदेखि राखिने भएको छ ।

कोरोना संक्रमितको उपचारका लागि भन्दै २०७६ चैत २१ गते सञ्चालनमा ल्याइएको कोभिड उपचार केन्द्रमा २०७७ साल बैशाख ४ गतेदेखि संक्रमित भर्ना गरेर उपचार सुरु गरिएको थियो । हालसम्म ३११ जना संक्रमित भनाई भईसकेकामध्ये २६० जना डिस्चार्ज भएका छन् । कोभिड उपचार केन्द्रमा एकजना संक्रमितको मृत्यु भएको छ । बिहीबार बिहानसम्म २४ महिला र २८ जना पुरुष गरि ५२ जनाको उपचार भईरहेको डा.सिग्देलले जानकारी दिनुभयो । भर्ना भएकामध्ये तीनजनालाई आईसीयूमा राखिएको छ । कोशिको कोभिड–१९ उपचार केन्द्रमा लक्षणसहितका संक्रमितलाई मात्रै भर्ना लिइने भएको छ । यस अगाडीसम्म कोरोना संक्रमण पोजेटिभ देखिएका सबै संक्रमितलाई राखिदैं आएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes