पथरीशनिश्चरे । पासो थापेर चित्तल मारेको अभियोगमा इलाका प्रहरी कार्यालय पथरीले २ जनालाई पक्राउ गरेको छ। मोरङको पथरी(शनिश्चरेस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र पासो थापेर चित्तल मारेको अभियोगमा पथरीशनिश्चरे १ का चित्रकुमार श्रेष्ठ र भोजपुर घर भइ पथरीशनिश्चरमै बस्ने विश्वबन्धु भन्ने विवस राई पक्राउ गरिएको हो। उनीहरुलाई मृत चित्तलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए।
उनीहरुको साथबाट खुकुरी, छाला काढ्ने हतियार र वन्यजन्तुलाई पासो थाप्न प्रयोग हुने डोरी बरामद भएको छ। उनीहरुले केही समय अघिदेखि पासोमा पारेर वन्यजन्तुको शिकार गर्दै आएको सूचनाका आधारमा प्रहरी र सामुदायिक वनका पदाधिकारीले निगरानी गरेका थिए। पासोमा मारिएको चित्तल ३ वर्षको रहेको बताइएको छ।