प्रदेश १ मा संक्रमण तीब्र रुपमा बढेपछि परीक्षणमा समस्या - Pahilo Online

प्रदेश १ मा संक्रमण तीब्र रुपमा बढेपछि परीक्षणमा समस्या

writer

मोरङ । प्रदेश १ मा लकडाउन खुल्ला भएपछि तीब्र गतिमा कोरोना फैलिरहेको छ। संक्रमण ह्वात्तै बढेपछि प्रदेश १ का प्रयोगशालाहरूमा स्वाब परीक्षणको चाप वृद्धि भई समस्या उत्पन्न भएको छ । स्थानीय तहले आफैं भीटीएम किनेर स्वाब संकलन गरी प्रयोगशालामा पठाउन थालेका छन् । प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरी तीनवटा पीसीआर ल्याबमा दैनिक ५/५ सयका दरले नमुना परीक्षण हुँदै आएको छ ।

झापाको मेची अस्पतालमा पनि सोमबारदेखि ल्याबको परीक्षणको काम भइरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको भनाई छ । ‘प्रदेशस्थित तीनवटै ल्याबको दैनिक स्वाब परीक्षण क्षमता १ हजार ५ सय छ। तर स्थानीय तहबाट दैनिक परीक्षणका लागि २२ सयदेखि २७ सयसम्म स्वाब संकलन भएर आइरहेको छ,’ उनले भने, ‘दैनिक ७ सयदेखि १२ सयसम्म स्वाब नमुना बाँकी रहने गरेकाले परीक्षणमा ढिलाइ भइरहेको छ ।’

यादवका अनुसार मंगलबार तीनवटै पीसीआर ल्याबमा गरी २ हजार ७ सय ५० वटा नमुना परीक्षण गर्न बाँकी थियो । विशिष्ट व्यक्ति, पहुँचवाला र शक्तिकेन्द्रका व्यक्तिहरूको एक दिनमै रिपोर्ट दिने गरेको तर सर्वसाधारणको ५ दिनसम्म ढिलाइ गरिएको भन्दै विरोध हुने गरेको छ । ‘स्वाब संकलन गर्ने क्रममा नै तत्कालै परीक्षण गर्नुपर्ने नमुना छुट्टै सानो आइस बक्समा राख्छौं,’ यादवले भने, ‘थोरै स्वाब नमुना भएको आइस बक्सको चाँडै परीक्षण हुन्छ तर १र२ सय स्वाब नमुना भएको बक्सको रिपोर्ट आउन ढिलाइ हुन्छ ।’

पालिकाहरूले आवश्यकै नभएका व्यक्तिको पनि पहुँचका भरमा स्वाब संकलन गरेर पठाउने गरेकाले वास्तविक संक्रमितको परीक्षणमा समस्या परेको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले बताए । ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा र कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिलाई प्राथमिकतामा राखेर स्वाब संकलन गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘तर अहिले स्थानीय तहका वडा कार्यालयले पहुँच र पैरवीका भरमा अनावश्यक व्यक्तिको स्वाब संकलन गरेर पठाउने गरेका छन् ।’

संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा व्यक्ति पहिचानमा पनि समस्या रहेको मेहताको भनाइ छ । ‘शारीरिक दुरी कायम राखेर कुराकानी गरेका, नजिकैबाट देखादेख मात्रै गरेका व्यक्तिहरू कन्ट्याक्ट ट्रेसिङमा पर्दैनन्,’ उनले भने, ‘तर त्यस्ता व्यक्तिको समेत स्वाब संकलन भएर आइरहेको छ ।’ प्रदेश १ मा मंगलबारसम्म ६० हजार ६ सय ८० जनाको पीसिआर परीक्षण गरेको छ । जसमा प्रदेशबाहिरका ४ हजार १ सय ७४ र प्रदेशका ५६ हजार ४ सय १६ जना छन् । तीमध्ये १ हजार ५ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes