संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका ३ का वडा सदस्य आशिष राई तास खेलिरहेको अवस्थामा होटलबाट समातिएका छन्। खाँदबारी नगरपालिका १ स्थित वान्समोर होटलमा तास खेल्दै गरेको अवस्थामा वडा सदस्यसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरीक्षक सन्तोष राईले विशेष सूचनाको आधारमा चिचिला गाउँपालिका ३ का वडा सदस्य आशिष राई, मकालु गाउँपालिका १ का लाक्पा शेर्पा, चैनपुर नगरपालिका २ का मिङ्मा शेर्पा र होटल सञ्चालक सुनिल कुमार श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिएका छन्।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ४४ हजार २०५ रुपैयाँ नगद बरामद गरेको छ। जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट जुवा मुद्दामा ७ दिन म्याद थप गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। वान्समोरका होटल सञ्चालक श्रेष्ठ यसअघि पनि दुई पटक पक्राउ परिसकेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूलाई साउन १४ गते खाँदबारी बाट पक्राउ गरेको थियो ।