लामो समयको लकडाउनले धनकुटामा बारीमै कुहियो करिब तीन करोड रुपैयाँको बन्दा कोपी - Pahilo Online

लामो समयको लकडाउनले धनकुटामा बारीमै कुहियो करिब तीन करोड रुपैयाँको बन्दा कोपी

writer

धनकुटा । लामो समयको लकडाउनका कारण धनकुटाका किसानले उत्पादन गरेको बन्दा कापी बारीमै कुहिएको छ। छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा बिक्रीका लागि तयार भएको करिब तीन करोड रुपैयाँको बन्दा कोपी कुहिएको हो। मुुख्य आम्दानीको मुख्य स्रोत गुमेकाले दैनिकी चलाउने समस्या परेको छथर जोरपाटी–६ की किसान सुष्मा थापाले बताइन्।

विगतका वर्षहरुमा कम्तीमा प्रतिकिलो सात रुपैयाँसम्म बिक्री हुने गरे पनि यसपटक सित्तैमा दिँदा पनि कसैले नलगेको किसानको गुनासो छ। केही किसानले बन्दा कोपी बोटमै काटेर मलका लागि कुहाएका छन्। नकाटेका पनि कुहिएको छन्। अर्को तरकारी लगाउने बेला भएकाले खनजोत गर्न अप्ठ्यारो भएकाले सित्तैमा लगिदिनु भनी व्यापारीसँग अनुरोध गर्दा पनि नलगेको छथर जोरपाटीका किसान दिलमाया खड्काको गुनासो गरिन्। छथर जोरपाटी र महालक्ष्मीमा २०४८ सालदेखि व्यावसायिक तरकारी खेती हुँदै आएको छ। व्यावसायिक तरकारी खेती हुने भएकाले सरकारले यो क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन अन्तर्गत तरकारीको पकेट क्षेत्र घोषणा गरेको छ।

करिव चार महिना भएको लकडाउनका कारण बाहिरी बजारमा तरकारी निर्यात हुन नसकेकाले किसानको बारीमा तरकारी कुहिएको छथर जोरपाटीको सिधुवा बजारका उद्योग वाणिज्य संघ धनकुटाका सदस्य नवीन गुरुङले बताए। उनले उद्योग वाणिज्य संघले यहाँ उत्पादित तरकारी केही मात्रामा धनकुटा बजारमा सस्तो दर रेटमा तरकारी बिक्री गरे पनि धेरै उत्पादन हुने भएकाले सबै बिक्री गर्न सम्भव नभएको बताए। छथर जोरपाटी र महालक्ष्मीमा गरी करिब एक हजार हेक्टर क्षेत्रफलबाट वार्षिक ३२ करोड रुपैयाँ बराबरको तरकारी बिक्री हुने गरेको छ। यो सिजनमा उत्पादन हुने मटरकोसा, रायोको साग, काउली र बन्दा कोपी गरी चार करोडको उत्पादन भएकोमा एक करोड रुपैयाँ बराबर तरकारीले मात्रै बिक्री भएको र तीन करोड रुपैयाँको बारीमै कुहिएर खेर गएको सिँधुवा कृषि भण्डारका प्रबन्धक मेघेन्द्र गुरुङले बताए।

यहाँ उत्पादित बन्दा कोपीको मुुख्य बजार पूर्वी तराईका शहर र भारतको पश्चिम बंगाल तथा बिहारका विभिन्न शहर हुन्। तर, अचम्म त के छ भने अहिले गाउँ नजिकको बजार सिँधुवामा तराईमा उत्पादित तरकारी सहज रुपमा पाइन्छ। तर, बजार छेउका गाउँका किसानको बारीमा तरकारी कुहिएर खेर गएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles