ताप्लेजुङ । फुङलिङ नगरपालिका २ मा मालबाहक ट्रकमा करेण्ट लागेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। आइतबार दिउँसो करिब ३ बजे सामान पु¥याएर फर्कंदै गरेको मालबाहक ट्रकमा लत्रिएको विद्युतको तारले छुँदा करेण्ट लागेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।
मृत्यु हुनेमा पाथिभरा याङ्वरक गाउँपालिकाका जिपचालक विकास सुनुवार छन् भने ट्रकचालक अमृत श्रेष्ठ गम्भीर घाइते छन्। घाइते श्रेष्ठ पाँचथर भारपाको रहको बताइएको छ। डिएसपी श्रेष्ठका अनुसार दोभानमा सामान पु¥याएर फर्कंदै गरेको मे१ख १८६५ नम्वरको मालबाहक ट्रकमा लत्रिएको नाङ्गो तारबाट करेण्ट प्रवाह भई ट्रकचालक श्रेष्ठ घाईते भएका थिए। ‘सोही समयमा जिल्ला सदरमुकामबाट मेरिङ्देन गाउँपालिका तर्फ गईरहको मे१च ३०११ नम्बरको यात्रुवाहक जिपका चालक सुनुवारले विचबाटोमा ट्रक रोकिएको देखेर के भएको रहेछ भनेर ट्रकका चालकलाई हेर्न जाँदा उनलाई पनि करेण्ट लागेको रहेछ’ डिएसपी श्रेष्ठले भने। जिपचालक सुनुवारको करेण्ट लागेर घटनास्थलमै ज्यान गएको थियो। गम्भीर घाईते ट्रकचालक श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै छ। घटनाका विषयमा थप अनुशन्धानका लागि प्रहरी टोली खटिएको डिएसपी श्रेष्ठले जानकारी दिए।
