प्रदेश १ को बजेट अधिवेशन अन्त्य, प्रदेशको नामकरण प्रस्तावले प्रदेशसभामा प्रवेश पाएन - Pahilo Online

प्रदेश १ को बजेट अधिवेशन अन्त्य, प्रदेशको नामकरण प्रस्तावले प्रदेशसभामा प्रवेश पाएन

writer

मोरङ । प्रदेश १ को प्रदेशसभाको छैठौं तथा बजेट अधिवेशन शुक्रबार अन्त्य भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाएको पत्र पढेर अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । उनले महामारीको समयमा दुई वटा हलमा बसेर भए पनि सभा सञ्चालन गर्नमा सहयोग गरेको भन्दै सबैलाई उनले धन्यवाद दिए ।

शुक्रबारको बैठकबाट प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्दै अधिवेशन अन्त्यको घोषणा भएको हो । बजेट अधिवेशनको ३७ वटा बैठकबाट १० वटा विधेयक पारित गरिएको छ । छैठौं अधिवेशन सम्पन्न हुँदासम्म पनि प्रदेशको नामकरण प्रस्तावले प्रदेशसभामा प्रवेश पाएको छैन । विराटनगरलाई प्रदेश राजधानी र बृहत विराट विकास क्षेत्रभित्र संरचना रहने प्रदेशसभाले पारित गरे पनि हालसम्म राजधानीका स्थायी संरचना निर्माणमा सरकारको ध्यानकेन्द्रित हुन सकेको छैन ।

मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको महामारीले प्रदेशको नामकरणको विषयमा छलफल गर्न नसकेकोले अब आउँदो अधिवेशनले बृहत् छलफल गरी सबैको सहमतिमै टुंगो लगाउने बताए । उनले महामारीको समयमा बजेट अधिवेशनमा सहभागी भई बजेट पारित गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरे । उनले कोरोना भाइरस नियन्त्रणमा अगाडि रहे पनि अबको समय भने झन् सचेत भएर अघि बढ्नु पर्ने बताए ।

प्रमुख प्रतिपक्षी कांग्रेसका नेता राजीव कोइरालाले सुशासन र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नारा लगाउने प्रदेश सरकारको काम गरेको तौरतरिका महालेखा परीक्षकको प्रतिवेदनले उजागर भएको बताए । प्रतिवेदनले औल्याएका त्रुटी सच्याउन उनले सरकारको ध्यानाकर्षण गराए । प्रतिपक्षी दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता विष्णु तुम्बाहाम्फेले प्रदेशसभा सदस्यहरुले दिएको राम्रो सुझाव पनि सत्तापक्षले सुनुवाइ नगरी पेलेरै जाने रणनीति बनाएको गुनासो गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes