ओखलढुंगा । ओखलढुङ्गा जिल्लाका ७२ वर्षीय क्यान्सरपीडितले कोरोना जितेका छन् । उनीसहित ५ जनालाई कोरोना निको भएपछि ओखलढुंगा हाललाई कोरोना संक्रमणमुक्त भएको छ । हालसम्म जिल्लाको लिखु गाउँपालिकामा ५ जना र सुनकोशी गाउँपालिकामा १ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
लिखुका ७२ वर्षीय ती वृद्धलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको निगरानीमै आफ्नै घरमा राखेर उनलाई उपचार गराइएको थियो। १४ दिन आइसोलेसनमा बसेपछि उनीसँगै सबैको पुनः परीक्षण गरिएको थियो । आइसोलेसनमा भएका सबैलाई आजै डिस्चार्ज गरीएको स्वास्थ्य कार्यालय ओखलढुंगााका प्रमुख सुमन तिवारीले बताए । क्यान्सरकै कारण थप उपचारका लागि अस्पतालसम्म नलगिएका वृद्ध तथा उनको परिवार समेतमा कोरोना नेगेटिभ देखिएको तिवारीको भनाइ छ ।
ओखलढुंगाको सोलु करिडोरमा कार्यरत १५ भारतीय मजदुरलाई ४ दिनअघि कोरोना पुष्टि भएसँगै उनीहरुलाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएकाले हाल जिल्लामा कोही पनि संक्रमित छैनन्। ओखलढुंगामा पछिल्लो पटक लिखुका १ सय २५, माने भञ्ज्याङका ८१ र सिद्धिचरण नगरपालिकाका २० जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।