बिराटनगर । आर्थिक वर्ष २०७६÷०७७ को अवधिमा जिल्लाभरिमा सामुदायिक वनहरु मध्येबाट तीनवटा समूह पुरस्कृत भएका छन् । आइतबार डिभिजन वन कार्यालय मोरङमा आयोजित एक समारोहकाबीच जिल्लाका तीन वटा सामुदायिक वनहरुलाई प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत हुने सामुदायिक वनहरुमा बेलबारी–२ स्थित रमिते प्रथम, केराबारीको हिमचुली दोस्रो र सुन्दरहरैंचा– १० स्थित जनजागरण तेस्रो भएका छन् ।
डिभिजन वन कार्यालय मोरङ्ग परिसरमा आयोजित एक कार्यक्रमबिच प्रदेश नम्बर १ उध्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जिवकुमार राईको प्रमुख आतिथ्यता, मन्त्रालयका महाशाखा प्रमुख सहित कर्मचारीहरु र डिभिजन वन कार्यालय मोरङ्गका प्रमुख विशाल घिमिरेसहित कर्मचारिहरुको उपस्थितिीमा पुरस्कार प्रदान गरिएको हो । जसमा प्रथमलाई १० हजार, दोस्रोलाई ८ हजार र तेस्रो स्थान हासिल गर्नेलाई ६ हजार रुपैयां नगद सहित प्रमाणपत्र प्रदान गरिएको डिभिजन वन अधिकृत घिमिरेले जानकारी दिए ।
डिभिजन वन प्रमुख घिमिरेका अनुसार वनको ब्यवस्थापन, नयां बिरुवाको पुनरउत्पादन र बृद्धी ब्यवस्था, वन पैदावारको उपयोग र बितरण, कोषको सदुपयोग, निर्णय प्रकृयामा पारदर्शिता र समुहको सुशासनको मापनको आधारमा उत्कृष्ट सामुदायिक वनका रुपमा पुरस्कृत गरिएको हो । ‘जिल्लाका १३४ सामुदायिक वनहरुमध्ये तोकिएको मापदण्डहरुका आधारमा पहिले पुरस्कृत नभएका वन समुहहरु मध्येबाट यी समुहहरुलाइ उत्कृष्ट तीनको रुपमा छनौट गरियेको हो’– डिभिजनल प्रमुख घिमिरेले भने ‘यी लगायत अन्य सबै समुहहरुले वन ऐन नियम र कार्ययोजना बमोजिम नै वन ब्यवस्थापन गरिरहेको र यस पुरस्कार र सम्मानले अन्य समुहहरुलाई पनि अब्बल रूपमा कार्य गर्न हौसला प्राप्त होस् भन्ने हाम्रो उद्देश्य हो ।’
डिभिजन वन कार्यालयका सुचना अधिकारी रामलखन ठाकुरले गत वर्ष जिल्लाको पथरी शनिस्चरे स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले रास्टृय स्तरको गणेशमान सिंह सामुदायिक वनको प्रथम पुरस्कार र लेटाङ्गस्थित जनसेवा सामुदायिक वनले प्रदेश नम्बर १ स्तरको प्रथम पुरस्कार हासिल गर्न सफल भयेको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरुले पुरस्कृत हुने वन उपभोक्ता समुहहरु, वन ब्यवस्थापनमा सन्लग्न उपभोक्ताहरु र सल्लाहकार सदस्यहरु, प्राविधिक सहयोग गर्नुहुने सम्बन्धित सब डिभिजन वन कार्यालयका कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।