पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोनाको सङ्क्रमण - Pahilo Online

पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोनाको सङ्क्रमण

writer

काठमाण्डौ । पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार ८२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार आठ सय एक पुगेको छ । पछिल्ला केही दिनमा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । १९ गते सात सय २० जनामा कोरोना देखिएको थियो । २० गते दुई सय ३२ जनामा, २१ गते दुई सय ९३ जनामा, २२ गते एक सय ८० जनामा, २३ गते दुई सय चार जनामा, २४ गते दुई सय ५५ जनामा, २५ गते एक सय आठ जना, २६ गते एक सय १८ जना, २७ गते ७० जना र आइतबार ८२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले आठ हजार एक सय ७४ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् । आइतबार एक सय ४७ गरी आजसम्म आठ हजार पाँच सय ८९ जना निको भएर घर फर्किएका छन् । कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ३८ छ ।

आइतबार पीसीआर विधिबाट तीन हजार नौ सय १६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ८३ हजार पाँच सय १५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २३ हजार सात सय ८४ जना रहेका छन् । उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सरकारले समुदायमा नमुना सङ्कलन गर्न थालेको छ । नख्खु टोल, कोटेश्वर, शङ्खमुल, बूढानीलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखालगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेले बताउनुभयो । अहिलेसम्म सङ्कलन भएका तीन हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा तीन जनामा मात्रै पोजेटिभ देखिएको छ । उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको उहाँले बताउनुभयो ।

असार २५ गतेबाट ४५ हजारको नमुना सङ्कलनको काम अघि बढाइएको पनि उनले बताए । उपत्यकामा मात्रै पाँच हजार नमुना सङ्कलन हुनेछन् । बैंक तथा वित्तीय संस्था, मालपोत कार्यालय र आईसीयूलगायत अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिहरुको नमुना सङ्कलन सुरु भएको डाक्टर पाण्डेले बताउनुभयो । अहिलेसम्म सङ्कलन गरी रिपोर्ट आएका पाँच सय पाँच जनाको नेगेटिभ आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes