प्रदेश १ ले राजधानी तोकेको चौध महिना भइसक्दा पनि नामाकरण भएन - Pahilo Online

प्रदेश १ ले राजधानी तोकेको चौध महिना भइसक्दा पनि नामाकरण भएन

writer

मोरङ । प्रदेश १ सरकारले स्थायी राजधानी तोकेको १४ महिना भएसम्दा पनि नाम तोक्न सकेको छैन । २०७६ वैशाखमा प्रदेश १ को अस्थायी मुकाम विराटनगरलाई नै स्थायी राजधानी तोकिएको हो । चर्को रस्साकस्सीपछि प्रदेशले स्थायी राजधानी त पायो, तर अहिलेसम्म नाम पाउन सकेको छैन ।

प्रदेश १ सरकार नामको विषयमा चुइँक्क नबोलेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले १६ औं बैठक अर्थात् असार ८ गते नामकरणको विषयमा प्रदेश संसद् अवरुद्ध ग¥यो । तर नामको विषय अझै पनि बहसमा आउन सकेको छैन । प्रदेश १ मा सत्तापक्ष नेकपाकै दुई तिहाइ पुग्छ । नाम तोक्न आवश्यक दुई तिहाइका लागि ६२ सांसद् चाहिन्छ । प्रदेश १ को प्रदेशसभामा ९३ सांसद्मध्ये नेकपाका ६७ सांसद् छन् । नेपाली काङ्ग्रेससहित अरू दलका २६ सांसद् छन् ।

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशको नाम राख्न ढिलाइ गरेको भन्दै संसद्समेत अवरुद्ध गरिसकेको बताए । ‘हामीले बारम्बार नामको विषय टुङ्गो लगाउनुहोस् भन्दै आएका छौं’ कार्कीले भने– ‘हामीले प्रदेशको नामक–रण गर्नको लागि आह्वान होस् भनेका छौं, नामको विषय सर्वदलीय सहमतिअनुसार गर्ने प्रयासमा हामी लाग्छौं ।’

नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको हुनुपर्नेमा प्रदेशसभा सांसद्को माग रहिआएको छ । २०७४ फागुन ३ गते गठन भएको प्रदेश सरकारले हालसम्म ४३ कानून निर्माण गरिसकेको छ । तर प्रदेश सरकारको नाम भने अहिलेसम्म टुङ्गो लगाउन नसकेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ । विश्लेषक डा. सोम खतिवडाले नामकरणमा प्रदेश सरकारले ढिलाइ गरेको टिप्पणी गरे । २ वर्ष अगाडिदेखि नामको विषयमा कुरासमेत नउठेको भन्दै तत्काल नामकरण गर्नुको विकल्प नभएको उनी बताउँछन् । प्रदेश एकमा नामको विषयमा समस्या नहुने उनी बताउँछन् । ‘कोशी प्रदेश नामकरण गरे कसैलाई आपत्ति हुँदैन’ उनले भने–‘मुस्लिम समुदायले समेत कोशी प्रदेश स्वीकार गर्छन् ।’

‘प्रदेशको नामको विषयमा छलफल गरेर निर्णय गर्ने, निर्णय गर्न सकिएन भने दुईतिहाइले पास गरे हुन्छ नि’–डाक्टर खतिवडाले भने । किरातहरूको पनि इतिहास जोडिएको कोशीलाई प्रदेशको नामकरण गर्नुपर्ने उनको सुझाव छ । २०७६ वैशाख १९ गते बसेको बैठकमा प्रदेशको स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश भएको थियो । तेस्रो अधिवेशनले प्रदेशको राजधानी विराटनगरलाई अनुमोदन गरे पनि नामकरण गर्न सकेको थिएन ।

नाममा कचिलो

पछिल्लो २ वर्षयता प्रदेश १ मा नामको विषयमा बहस नभएको भने होइन । किरात राई यायोक्खाले प्रदेश नम्बर १ को नाम ‘कोशी’ राखिए विद्रोह हुने चेतावनी दिएको छ । यायोक्खा अध्यक्ष दिवस राईले एकल ‘कोशी’ स्वीकार्य नहुनुको साथै विद्रोहको स्थिति सिर्जना हुने बताउँदै आएका छन् ।

प्रदेशको नाम पेचिलो बन्दै गए पनि नेकपाका अधिकांश शीर्षनेताहरू कोशीपछि किरात झुण्ड्याउने पक्षमा छैनन् । उनीहरू पहिचानसहितको सङ्घीयता जनाउने नाम आवश्यक रहेको बताउँछन् । प्रदेश नम्बर १ मा नेकपाको बहुमत रहेका कारण पनि त्यसले के निर्णय लिन्छ, त्यो सर्वत्र चासोको विषय बनेको छ । यसैले काङ्ग्रेसको प्रदेश संसदीय दलसमेत कुनै निर्णय नलिई ‘पर्ख र हेर’ को स्थितिमा छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles