सडक नामकरणको विषयमा हल्दिबारी गाउँपालिकाको सभामै तोडफोड - Pahilo Online

सडक नामकरणको विषयमा हल्दिबारी गाउँपालिकाको सभामै तोडफोड

writer

झापाको हल्दिबारी गाउँपालिकाको पाँचौँ गाउँ सभामा सडक नामकरणको विषयलाई लिएर तोडफोड भएको छ। विवादमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताले गाउँ सभा चलिरहेको अवस्थामा गाउँपालिका घेराउँदै गर्दै तोडफोड गरेका हुन्। सोही क्रममा दुई जना घाइते भएका छन्। घाइते हुनेमा नेपाली कांग्रेसका गाउँपालिका उपाध्यक्ष गङ्गाप्रसाद प्रसाइ र राप्रपा वडा नम्बर २ का अध्यक्ष भिमराज फ्याक घाइते भएका हुन्। स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको जनाइएको छ। तोडफोडबाट गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी बस्ने कार्यकक्षको सिसा फुटेको छ। गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनले समेत कुर्सी तोडफोड गरेका थिए।

यस्तो थियो घटना
साबिक जलथल गाविस हाल हल्दिबारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ जोड्ने सडकको नामकरणको विषयमा स्थानीय दलहरूबीच विवाद सुरु भएको हो। सो सडकको नाम नेकपाले स्व। दोणचार्य क्षत्री राख्नुपर्ने बताउँदै आएको थियो। नेपाली कांग्रेस र राप्रपाले भने स्व। केशवकुमार कन्द्ङवा राख्नुपर्ने अडान लिएका थिए। दुवै जिल्लाका स्वर्गीय चर्चित नेता हुन्। सडक नामकरणको विषयमा विवाद उत्पन्न भएपछि जेठ ८ गते गाउँपालिकाको कार्यपालिकाको बैठकले जेठ ८ गते गाउँसभाबाटै नामकरण टुङ्गो लगाउनुपर्ने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम बुधवार दिउँसो गाउँ सभा सुरु भएको थियो। गाउँसभा सुरु भएलगत्तै कांग्रेस र राप्रपाका कार्यकर्ता भेला भएर सडककै विषयमा ज्ञापनपत्र बुझाउन गाउँपालिका पुगेका थिए। गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए। उपाध्यक्ष गिरीको प्रस्तुति सकिएपछि कांग्रेस र राप्रपाका कार्यकर्ताले अध्यक्ष लिङ्देनलाई ज्ञापनपत्र बुझाउन खोजिरहेका थिए। तर, उनले ज्ञापनपत्र बुझ्न मानेनन्, उनले सडकको नामकरणको विषयमा सभामै कुरा राख्न भनेका थिए। ज्ञापनपत्र नलिएको भन्दै नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरूले सभा बिथोल्दै एक्कासि तोडफोड उत्रिएका थिए। गाउँपालिकामा तोडफोड भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी तत्काल घटनास्थल पुगेका थिए। प्रहरीले गाउँपालिकामा कडा सुरक्षा प्रदान गर्दै तोडफोडमा उत्रिएका कार्यकर्तालाई त्यहाँबाट हटाएर माहौल शान्त बनाएका थिए। गाउँपालिकाका

अध्यक्षसहित ६ जनाद्वारा सभा बहिष्कार
राप्रपाबाट जितेका हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनसहित ६ जना जनप्रतिनिधिले गाउँ सभा बहिष्कार गरेका छन्। सडक नामकरणको विषयमा बल्झिएको विवादपछि गाउँपालिकामा तोडफोड भएपछि उनीहरू गाउँ सभा बहिष्कार गरेर हिँडेका हुन्। अध्यक्ष लिङदेनसहित वडा नम्बर ५ का वडा अध्यक्ष शेरबहादुर नेम्वाङ, ४ नम्बर वडा अध्यक्ष होमप्रसाद चुडाल र अन्य तीन जना वडा सदस्य रहेका छन्। राप्रपाका पाँच जना र कांग्रेसका एक जना जनप्रतिनिधिले बहिष्कार गरेका हुन्।

यता घटनाको विषयमा गाउँपालिकाका अध्यक्ष लिङ्देन भन्छन्–‘विवाद तोडफोडको क्रममा आफूलाई नेकपाका केही कार्यकर्ताले हातपात गरेको भन्दै मेची अञ्चल अस्पताल भद्रपुर स्वास्थ्य जाँचका लागि गएको हुँ।’ यता गाउँपालिका उपाध्यक्ष गिरीले अध्यक्ष लिङ्देन आफैँले सभा छाडेर गएको दाबी गरेका छन्। अध्यक्ष लिङ्देन आफैँले सभा भइरहेको समयमा अमर्यादित ढङ्गले प्रस्तुत भएको र टेबल फुटाएको उपाध्यक्ष गिरीको भनाइ छ। अमर्यादित ढङ्गले प्रस्तुत हुने जो कोहीलाई सार्वजनिक मुद्दा चलाउने भन्दै सभा पुनः सञ्चालन गरेको उनले बताए। (थाहखवरबाट)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles