पथरी । एकिकृत अखिल नेपाल शिक्षक संगठन (एन्टो) पथरी शनिश्चरे नगर कमिटिले नगरपालिकालाई विभिन्न माग सहितको १५ बुदे ज्ञापन बुझाएको छ। नगर कमिटि अध्यक्ष बुद्धिनाथ अधिकारीको नेतृत्वमा नगर प्रमुख दिलिप कुमार राई समक्ष सो ज्ञापन पत्र बुझाउदै संगठनले विद्यालय पुनः सुचारु हुनुपूर्व सम्पुर्ण शिक्षक कर्मचारी र विद्यार्थीहरुको कोरोना पिसिआर टेस्ट गर्ने प्रावधान मिलाउन माग गरेको छ। संगठनले विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको अनिवार्य रुपमा कोभिड संक्रमण जोखिमका विरुद्ध जिवन विमा गर्न पनि पहल कदमी गर्न नगरपालीकालाई अनुरोध गरेको छ।
विश्व माहामारीको रुपमा रहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण जोखिममा समेत शिक्षक कर्मचारी विद्यालयको परम्परागत शिक्षण कार्य बाहेकको अन्य कार्य गर्न विद्यालय जानुपर्ने भएकोले शिक्षक कर्मचारीलाई आवश्यक न्यूनतम स्वास्थ्य सामाग्रीहरु ९मास्क, स्यानिटाइजर, ग्लोभ आदि० उपलब्ध गराउन समेत संंगठनले माग गरेको छ।

विश्व माहामारी कोभिड १९ को संक्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन कार्य अघि बढाउन विद्यार्थीहरुका निम्ति रुटिन तथा पाठ्य सामाग्री निर्माण गरि स्थानीय एफ एम रेडियो, टेलिभिजन मार्फत दुर शिक्षा दिने व्यवस्था नगर मार्फत तत्काल पहल गर्न माग गरेको छ। वर्तमान शैक्षिक अवस्थाको बारेमा संपुर्ण अभिभावकहरुमा अभिमुखिकरण गराउने अभिप्रायले एफ एम रडिायो, टेलिभिजन मार्फत विशेष कार्यक्रम संचालन गर्न समेत संगठनले अनुरोध गरेको छ।
यसका साथै संगठनले साविक उच्च मावि तथा राहत कोटामा कार्यरत तथा राहत कोटाका शिक्षकहरुलाई दरवन्दिमा पदस्थापन गराई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन संघिय सरकारसँग पहल गर्न माग गरेको छ ।
यसका साथै संगठनले शिक्षा ऐनमा शिक्षक कर्मचारीलाई मासिक तलब भत्ता उपलब्ध गराउने उल्लेख भएको र सो कार्यको अभ्यास छिमेकी पालीकाहरुले समेत लागु गरेको हुनाले पथरी शनिश्चरे नगरपालीकाले पनि शिक्षक कर्मचारीको तलव आर्थिक वर्ष ०७७÷०७८ बाट मासिक भुक्तान गर्न नगर समक्ष माग गरेको छ। ।
विश्व माहामारी कौभिड १९ को कारणले लामो समयदेखि संस्थागत विद्यालयहरु बन्द रहेको र कार्यरत शिक्षक कर्मचारीहरूले पारिश्रमिक नपाएको हुनाले निजहरूको जिवन निर्वाहका निम्ति विशेष राहत प्याकेज उपलब्ध गराउन समेत माग गरिएको संगठनका नगर अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। साथै नगरभित्र रहेका सामुदायीक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई समेटी संयुक्त रूपमा वर्षमा कम्तिमा एक पटक शैक्षिक अवलोकन भ्रमणको आयोजना गर्न माग गरेको अधिकारीले बताउनु भयो । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको मासिक बैठक नियमित गर्न समेत संगठनले माग गरेको छ ।
संगठनको मागहरुको बारेमा संक्षिप्त धारणा राख्दै नगर प्रमुख राईले समय सान्दर्भिक मागहरु रहेको जनाउदै संगठनको मागहरु उपर विशेष ध्यानाकर्षण भएको जनाउदै कुनै एक संगठन मात्र नभई शिक्षकका सम्पूर्ण संघ,संगठनहरु एक भएर शिक्षक हकहितमा लड्न सुझाउनु भयो।








