काठमाडौं । कोरोना भाईरस (कोभिड १९) को जोखिमका कारण अन्योलमा परेको कक्षा ११ को अन्तिम परीक्षा पनि विद्यालयकै मूल्याँकनका आधारमा गरिने भएको छ । आगामी बर्षको बजेटका बारेमा राष्ट्रिय सभाको बैठकमा जारी छलफलमा बोल्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयकै आन्तरिक मूल्याँकनका आधारमा उक्त विषय सम्बोधन गर्ने गरी मन्त्रालयले चाँडैनै निर्णय गर्ने बताएका हुन् । कक्षा १२ को हकमा परिस्थिती अनुकुल भए पछि उच्च सुरक्षा सावधानी सहित परीक्षा गर्ने उनले बताए ।
यस बर्ष कक्षा ११ मा ५ लाख ३२ हजार ६ सय ९२ विद्यार्थी छन् । कक्षा १२ मा ४ लाख ३१ हजार ३ सय ३० विद्यार्थी छन् । गत चैत २५ गते स्थगित गर्ने निर्णय भए पनि २ महिना वितिसक्दा पनि सरकारले परीक्षाका बारेमा निर्णय नलिदाँ विद्यार्थी अभिभावक अन्योलमा छन् । विश्वविद्यालय तथा सिटिईभिटिका विभिन्न तहका परीक्षाका बारेमा महामारीको अवस्था विश्लेषण गरी छिट्टै उयपुक्त निर्णय लिने उनले बताए । अन्तिम समेष्टरका परीक्षा लिने तर बिचका परीक्षा नलिईकनै माथिल्लो सेमेष्टरमा पढ्ने वातावरण निर्माण गर्ने पनि उनले बताए ।
यस अघि सरकारले कक्षा १० को अन्तिम परीक्षालाई विद्यालयकै मूल्याँकनका आधारमा गर्ने निर्णय गरिसकेको छ । उक्त निर्णय अनुसार आवश्यक कार्यविधि बनाउने काम राष्ट्रिय परीक्षा बोर्डले गरिरहेको छ ।