संखुवासभा । नेपाल भारत र चीन जोड्ने सडक मार्ग अब छिट्टै जोडिने भएको छ। प्रदेश नं. १ को मूख्य व्यापारिक मार्ग एवम् त्रिदेशीय लिंक रोड जोगवनी किमाथांका सडक जोडिन अब १४ किलोमिटर मात्र बाँकी रहेको उत्तर(दक्षिण सडक डिभिजन कार्यालय संखुवासभाले जानकारी दिएको छ। किमाथांका(जोगवनी सडकखण्ड छिमेकी देश चीन र भारत जोड्ने सबैभन्दा छोटो सडक हो।
कोशी सडक आयोजना प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार २०७६ साल भदौ २२ गतेको मन्त्रीपरिषदको बैठकले किमाथांका जोगवनी सडक खण्डको भीर फुुटाउने जिम्मा नेपाली सेनालाई दिएको छ। त्यस क्षेत्रमा ठूला(ठूला चट्टान भएका कारण सडक निर्माणको जिम्मा सेनालाई दिइएको हो। भीर फुटाउनका लागि आवश्यक बिस्फोटक पदार्थ राख्ने बङ्कर बनाउने कार्य अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले जानकारी दिए। खाँदबारी(किमाथांका १६२ किमि ट्रयाक निर्माणको काम सम्पन्न गर्ने जिम्मेवारी उत्तर(दक्षिण (कोसी) सडक आयोजनालाई दिइएको छ।
सडक आयोजना प्रमुख श्रेष्ठका अनुसार चेपुवा, छुमसुर, घोङगोप्पा खण्ड निर्माणका लागि बिस्फोटक पदार्थ आवश्यक पर्नेछ। कडा चट्टानी भीर भएकाले १४ किलोमिटर सडक खण्डमा बिस्फोट गरेर मात्रै अघि बढ्न सकिने उनले बताए। यो सडक खण्ड निर्माणका क्रममा ३ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाका अधिकारीहरू बताउँछन्। आयोजनाले अहिले खाँदबारी(किमाथांका सडक स्तरोन्नती अघि बढाएको छ।
आयोजनाले भोटखोला गाउँपालिका(४ को बरुण र मकालु गाउँपालिकाको विभिन्न स्थानमा आधा दर्जन पक्की पुल निर्माण गरिरहेको छ। विराटनगरबाट किमाथांकासम्मको दूरी ३९० किलोमिटर छ। हिउँदका बेला वरुण नदीको दोभानसम्म साना सवारीसाधन र ट्रयाक्टर चलिरहेको छन्। भोटखोलाबाट खाँदबारी पुग्न पहिले तीन दिन लाग्ने गरेकोमा अहिले गाडीबाट १२ घण्टामै पुग्न सकिन्छ।
अहिले उत्तर(दक्षिण कोसी सडक आयोजनाले किमाथांका(हटिया र खाँदबारी(हटिया गरी दुईतर्फबाट निर्माण गरिरहेको छ। खाँदबारीबाट खनिएको सडक पनि चेपुवासम्म पुगेको छ। त्यहाँसम्म ७८ किमि सडक निर्माण भएको हो। आयोजनाले हटियाबाट हाङदाक खोलासम्म २१ किलोमिटरको काम पनि गरिरहेको छ। यो रुटमा १० किमि निर्माण भइसकेको आयोजनाले जनाएको छ। समयमै काम सकिए चीनसँग जोडिने अन्य ६ वटा नाकाभन्दा किमाथांका नाका छोटो र सहज हुनेछ ।