खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–३ च्यास्मीटार दाल्फुका किसान मकैको बिरुवामा महामारीको रुपमा फैलिएको फौजी किरा टिपेर नियन्त्रणको प्रयासमा जुटेका छन् । कीटनाशक विषादी हाल्दा मानव स्वास्थ्यलाई जोखिम हुने र मकैबारीबाट निकालिने घाँसपात गाईवस्तुलाई खुवाउन पनि उत्तिकै जोखिमपूर्ण हुने भएकाले किसानले हातैले टिपेर किरा मार्ने विधि अपनाएका हुन् ।
किरा नियन्त्रणमा दाल्फुका केही किसानले विषादी प्रयोग गरेपनि अधिकांश किसानले मकैका प्रत्येक बोट ओल्टाइपल्टाई गरेर किरा झिक्ने गरेको दाल्फुका स्थानीय खबिराज राईले बताए । मकैको बोटबाट निकालिएको किरा बटुकामा जम्मा गरेर कुखुरालाई खुवाउने गरिएको छ । कतिपय किसानले राति राति बारीको डिलमा आगो बालेर किराका पुतलीलाई जलाएर मार्ने गरेका छन् ।
कतिपयले भने स्थानीय जैविक विषादी तयार पारेर किरा नियन्त्रणको प्रयास गरिरहेको राईले बताए । दैनिक खोजी गर्दै मार्दा बिस्तारै किरा नियन्त्रणमा आइरहेको किसानहरुको भनाइ छ ।